सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर । बेदकोट नगरपालिकाले कञ्चनपुरमा नेपाली सेनासितको सहकार्यमा आज नगरपालिका–चतहरीमा जैविक तटबन्ध निर्माण सुरु गरेको छ । नेपाली सेनाको श्री नं २५ वाहिनी र श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोलीसँगै नगरपालिका र स्थानीयवासीले संयुक्त रुपमा नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण थालेका हुन् । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले नगरपालिका, सेना र स्थानीयको सहयोगमा करिब ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको बताए । “चौधर नदीको कटान तत्काल रोक्नका लागि बाँस र बोरा लगायतका सामग्री नगरपालिकाबाट प्रबन्ध मिलायौँ”, उनले भने, “सेना र स्थानीयसितको सहकार्यमा जैविक तटबन्ध निर्माण भयो ।” उनले नदीले चतहरीको दलित बस्तीतर्फ एक सय मिटरभन्दा बढी कटान गरेको जानकारी दिए । “नदी कटानका कारण बस्तीसमेत जोखिममा रहेकाले जोखिम टार्न जैविक तटबन्ध लगाउन थालेका हौँ”, नगरप्रमुख बोहराले भने, “कटान नियन्त्रणको दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौँ ।” कटानका कारण अहिले नै केही घर जोखिममा रहेको बोहराको भनाइ थियो । नेपाली सेनाको श्रीदल गुल्मले बेदकोट नगरपालिकाको आग्रहमा तटबन्ध निर्माणमा जुटेको जनाएको छ । सेनाले विपत् व्यवस्थापन लगायतका कार्यमा निरन्तर खटिँदै आएको जनाएको छ ।