सिन्धुपाल्चोक टक्सार पहिरो प्रभावितलाई पुर्जा

मंगलबार, साउन १०, २०७९

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ टक्सारका बाढीपहिरो पीडितलाई सोमबार लालपुर्जा वितरण गरिएको छ । पहिरो पीडितलाई  बस्ती स्थानान्तरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख  बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ पहिरो पीडितलाई लालपुर्जा वितरण गरेका हुन् ।
विसं २०७७ भदौमा आएको पहिरोले टक्सारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बस्नेतले जानकारी दिए ।
अन्य विस्थापितलाई सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उनले बताए । अब सुरक्षित स्थानमा आवास निर्माण गरी बस्न पाइने आशा पलाएको स्थानीय युधिर पौडेलले विश्वास ब्यक्त गरे । हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् । पीडितलाई  पुनर्बासका लागि जग्गा खरिद गर्न रु तीन लाख र घर निर्माण गर्न रु पाँच लाख दिइने बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार