सोसल मिडिया
Contact Us
युनिकोड
तम्घास । जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढुङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् । पाल्पाको रम्बादेवी गाउँपालिका–४ की नविना सूर्यवंशीले ढुङ्गाखानीमा गिटी कुट्न थालेको १२ वर्ष भयो । एक ट्याक्टर गिटी कुटेबापत उनले तीन हजार २०० कमाउँछिन् । श्रीमान्सँगै गिटी कुटेर उनले दुई छोरा पढाउँदै छिन् । गिटी कुट्दाकुट्दै माथिबाट ढुङ्गा खसेका थुप्रै दुःखद् अनुभव उनीसँग छन् । त्यसैमाथि चस्मा, पञ्जा, हेलमेट नहुँदा झनै जोखिम थपिएको छ । “गिटी कुट्दा ढुङ्गा उछुट्टिएर आँखामै लाग्छ”, उनले भनिन्, “चस्मा त आफैँ किनेर लगाउँ लगाउँ हुन्छ ।” सूर्यवंशी मात्र होइन बागलुङ बुर्तिबाङकी टेकमाया परियारले पनि कुनै सुरक्षाका सामग्री पाएकी छैनन् । उनी पाँच वर्षदेखि ढुङ्गाखानीमा कार्यरत छिन् । श्रीमान् श्रीमतीले गिटी कुटेर छोरा र छोरीलाई दुविचौरस्थित घोर्ले माविमा पढाएका छन् । दुई जनाले गिटी कुट्दा महिनाको १० हजारजति आम्दानी हुन्छ । त्यही रकमबाट उनीहरुले जीविकोपार्जन गर्दै आएका छन् । तर उनीहरुले अहिलेसम्म कुनै सुरक्षाका सामग्री पाएका भने छैनन् । “पञ्जा पनि छैनन्, चस्मा पनि छैनन्, न त हातमा लगाउने ग्लोब नै दिएका छन्”, परियारले भन्छिन्, “हामी दुःखी, गरिबलाई कसले हेर्छ र ?” उनले पाँच वर्षकी छोरीलाई गिटी कुट्ने ठाउँको नजिकै राख्छिन् । विद्यालय सञ्चालन हुँदा पठाउँछिन्, अन्य समयमा आफूसँगै राख्छिन् । छोरीले दुविचौरस्थित कक्षा १ मा पढछिन् । “छोराछोरीको भाविष्य बन्छ कि भनेर गिटी कुट्दै छु”, उनले भनिन्, “जसोतसो काम त गर्नैप¥यो ।” रेसुङ्गा नगरपालिका–१२ का सन्तबहादुर बस्नेत आफैं खानी सञ्चालक हुन् । उनी विगत १५ वर्षदेखि ढुङ्गाखानीमा काम पनि गर्छन् । तर उनलाई आफू सुरक्षित हुने विषयमै मतलव छैन । कामदारका विषयमा चासो हुने कुरै भएन । माथि जोखिम र जङ्गल भएकाले अब खानी बन्द हुने सम्भावना भएको बताए । “घाम चर्किंदा र पानी दर्किंदा पहिरो खस्छ । पलपलमा जोखिम देखेका छौँ”, उनले भने, “अब खानी नै बन्द हुँदैछ ।” दुविचौरमा सञ्चालन गरिएको ढुङ्गाखानी जिल्लामै ठूलो हो । पहिलेपहिले ३०० सम्मले काम गर्ने गरेकामा अहिले दैनिक ६० जनाले काम गर्छन् । केही समयअघि पहिरामा परी घाइते भएका रेसुङ्गा नगरपालिका–१२ का गुनबहादुर गुरुङको ज्यान नै गएको थियो । साथै खानीले नजिकको बस्तीलाई समेत असर गरिरहेको गुनासो आउने गरेको छ । श्रमिकले सुरक्षाका सामग्रीबारे सरकारले पनि ध्यान दिएको छैन । वडाध्यक्ष चेहरसिंह टन्डनले निर्वाचनपछि आफू ढुङ्गाखानी नगएको स्वीकार गरे । “गत वर्ष एकपटक सुरक्षा सामग्री बाँडेको हो, अहिले लगाउन छोडे होलान्”, टन्डनले भने, “म भोलि नै खानीमा जान्छु ।”