सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
डुम्रे–बेँसीसहर सडक पनि अवरुद्ध
निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।” आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् । गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ । पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।