शिक्षण संस्था सुधार्न महानगर प्रमुख बालेन साहलाई शिक्षा मन्त्रीको आग्रह

मंगलबार, साउन ३, २०७९

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौँ महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे । “शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुप¥यो”, शिक्षामन्त्री पौडेलले साहलाई भने । काठमाडौँ महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिए।
“भौतिक पूर्वाधारसँगै नमूना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुप¥यो”, मन्त्री पौडेलले भने, “महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।” शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
प्रमुख साहले महानगरपालिकाभित्र भएका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए । “हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौँ”, शाहले भने, “सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमको व्यवस्थाका लागि मन्त्रालयले रु ५० करोड रकमको व्यवस्था गर्नुप¥यो ।” साहले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार