शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव 

शनिबार, चैत २८, २०७७

काठमाडौं । सरकारले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्न लागेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार राजधानीमा बसेको बैठकले काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले विद्यालय बन्द गर्न प्रस्ताव गरेको हो । सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न  बैठकले ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने निर्णय गरेको छ । सीसीएमसीको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि लागु हुनेछ । विद्यालय तथा कलेज बन्द भए अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र) हरुले व्यवस्थापन गर्न भनिएको छ ।  सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ । रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्काेमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।  उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकमा  विज्ञलाई पनि बोलाएर सुझाव लिइएको थियो ।  बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन सबैलाई अपिल समेत गरेको छ । बैठकमा विज्ञले नाइट क्लब, सिनेमा घर, शैक्षिक संस्था जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार