थप १२५५ जनामा कोरोना भाइरस संक्रमण 

२५ जनाको मृत्यु
आइतबार, मंसिर १४, २०७७

काठमाडौं । नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार जनाएको छ । गत २४ घण्टाको अवधिमा देशभरि ८ हजार ८ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । अहिले थप संक्रमित फेला परेपछि तथा केही १ हजार ४०० जना निको भएपछि देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ पुगेको छ । मन्त्रालयको तथ्यांकअनुसार आइतवारसम्म नेपालमा १ हजार ४७९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

कति जना निको भए ?

मन्त्रालयले आइतवार प्रकाशित गरेको विवरणमा गत २४ घण्टाको अवधिमा थप १,४०४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल दुई लाख भन्दा बढी संक्रमित निको भएको सरकारी तथ्यांक छ । अर्थात् अहिले निको हुने दर ९१.६ प्रतिशत छ । गत कात्तिक ५ गते सर्वाधिक ५ हजार ७४३ जना संक्रमित फेला परेका थिए । शनिवार १,३८० जनामा कोभिड–१९ पुष्टि भएको थियो भने १९ जनाको मृत्यु भएको थियो ।

को हुन् सङ्क्रमित ?

अहिले फेला परेका संक्रमितमध्ये ५११ महिला र ७४४ पुरुष छन् । तीमध्ये काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जनासहित उपत्यकामा ५४८ जनामा कोभिड–१९ पुष्टि भएको हो । त्यसैगरी परीक्षणका क्रममा मोरङमा ७३, कास्कीमा ८३ र कैलालीमा ९८ जनामा पनि संक्रमण देखियो । अहिले सक्रिय संक्रमितमध्ये काठमाडौमा ७ हजार ६३३ जना, भक्तपुरमा ६४८, र ललितपुरमा १५१८ जना छन् । मन्त्रालयका अनुसार अहिले देशभरि झन्डै १३ हजार संक्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन् । बागमती प्रदेशमा अहिले देशभरि भएका सक्रिय संक्रमितमध्ये ४४.७ प्रतिशत छ । देशभरि अस्पतालमा भएका संक्रमितमध्ये ३६१ जना सघन उपचार कक्षमा र ५३ जना भेन्टिलेरमा छन् । उपत्यकाबाहिर झापा, मोरङ, कास्की र रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ । पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ । पुष्टि भएका संक्रमितमा मृत्युदर ०.६ प्रतिशत छ । तर ६० वर्षभन्दा माथिको उमेरका संक्रमितमा मृत्युदर उच्च छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार