सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डी–८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् । यो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरेका छन् । प्रधानमन्त्री खानले उक्त भर्चुअल सम्मेलनमा भनेका थिए, ‘विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकताको वस्तुको उपलब्धताका बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको छ ।’ उक्त समूहको १०औँ सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड–१९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्नेमा जोड दिएका थिए । यस कार्यका लागि डी–८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकाले त्यसलाई पुनः प्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए । त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकाले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकून् भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखेका थिए । उनले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताए । त्यसका लागि पनि यो डी–८ समूहले ध्यान दिनुपर्ने बताउनुभएको थियो । डी–८ समूहमा बङ्गलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बङ्गलादेश हो ।–सिन्ह्वा