प्रचण्डालाई ओलीको ‘कडा’ जवाफ

प्रचण्डको प्रतिक्रिया : ‘स्वागतयोग्य जबाफ’
शनिबार, मंसिर १३, २०७७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोपबारे शनिवार जबाफ दिएका छन् । ५३ बुँदामा समेटिएको ३८ पृष्ठको उक्त लिखित जवाफमा ओलीले प्रचण्डमाथि थुप्रै चुनौती दिएका छन् । लिखित जवाफमा उल्लेख गरिएका प्रमुख बुँदाहरू यसप्रकार छन् ।

१. यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रीतसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र नीहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो । यो प्रथम दृष्टिमै खारेजयोग्य छ । पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवम् कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु ।
२. वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्नु भएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।
३. यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवम् परीक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्ने छ भन्ने कुरा धेरै तथ्यहरूले पुष्टि गर्छन् ।
४. युद्धका बेला काम लागेका विधिहरू शान्तिपूर्ण, लोकतान्त्रिक र खुल्ला समाजमा सधैँभरि काम लाग्दैनन् । मेरो प्रश्न तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई ‘सहमति’ को आवरणमा गर्नुभएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो ।
५. ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षामा तपाईं सहमत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यस राष्ट्रिय आकांक्षा पूरा गर्न दृढतापूर्वक लागेको आफ्नै दलको सरकारलाई गठन हुँदाको प्रारम्भ देखिनै असहयोग गर्ने नियोजित सरकारविरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाव दिने चेष्टा किन गर्न खोजिएको छ ? इतिहासले जवाफ खोज्ने छ ।
६. एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईंको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्वविरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरताविरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ?
७. म आज खुल्ला आह्वान गर्न चाहन्छु–त्यागको यो सिलसिला आजै सुरु गरौँ । बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ । म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?
८. नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरूको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरूको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ। म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?
९. तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन् गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् ।
१०. कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरूलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ? मैले कर्णाली प्रदेशका नेताहरूलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ । तर मेरो विरोध गर्ने नाममा तपाईंले जेजस्ता तर्क अगाडि सार्दै हुनुहुन्छ, ती नजिरका रूपमा स्थापित भए भने कालान्तरमा ती निकै महँगो साबित हुने छन् । 

आजको सचिवालय बैठकमा मुख्य रुपमा उठेका बुँदाहरूमाथि अब मंसिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरिने पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले भने, ‘अब दुवै अध्यक्षले राख्नुभएका प्रस्तावहरूमाथि हामी सचिवालय बैठकमा छलफल गरेर निष्कर्ष निकाल्छौँ । त्यसपछि स्थायी कमिटी र केन्द्रिय कमिटी बैठकमा पनि छलफल हुन्छ ।’ यी प्रस्तावमाथि छलफल गर्नका लागि कात्तिक १६ गते सचिवालयको १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको पनि उनले बताए ।

प्रचण्डको प्रतिक्रिया
आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरेपछि त्यसलाई सकारात्मक भनि अर्का अध्यक्ष प्रचण्डले प्रतिक्रिया जनाएको पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
‘यो लिखित जवाफ वस्तुगत रुपमा स्वागतयोग्य छ । यस्तो प्रस्ताव आयो राम्रो भयो । यसले पार्टीलाई अझ बलियो बनाउँछ भन्नुभयो’ श्रेष्ठले भने ।
पार्टीभित्रका कतिपय नेताहरूले भने दुई अध्यक्षबीच पछिल्लो समय देखिएको तिक्तताले पार्टी फुटको सँघारमा पुगेको बताउने गरेका छन् ।
‘कम्युनिष्ट पार्टीमा अन्तसंघर्षका यस्तै कुराहरू बाहिर आएपछि र त्यसमाथि हुने बहस छलफलले नै पार्टीलाई अझ बलियो बनाउन मद्दत गर्छ । यसले पार्टीलाई फुटमा लैजान होइन जुटाउन सघाउ पु¥याउँछ’, उनले भने ।
यसैबीच, भोलि हुन लागेको चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपाभित्र विवाद उत्पन्न हुँदा विगतमा चीनको भूमिका रहँदै आएको बताउनेहरू छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार