कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

सोमबार, चैत २३, २०७७

मुम्बई । कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक बिदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउनसमेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागू गरेको हो ।  यो राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा बिदाका दिन शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागू हुने छ । भारतमा पछिल्लो समयमा कोभिड –१९ का धेरै सङ्क्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना सङ्क्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।  उनीहरुका अनुसार यो सङ्ख्या गत सेप्टेम्बर महिनायताको सर्वाधिक धेरै सङ्ख्या पनि हो । उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा सङ्क्रमित थपिएका छन् । यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको सङ्क्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गर्नुभएको थियो । भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करीब एक लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका सङक्रमण पुष्टि हुनेको सङख्या एक करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले यहाँका नागरिकले सुरक्षाका उपाय नअपनाएका कारणले यस्तो समस्या आएको बताए ।  उनलेसरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही सङक्रमित भएको जानकारी पनि दिए ।  उनले टेलिभिजन सम्बोधनका क्रममा भनेका थिए, “मानिस सामान्य अवस्थामा जस्तो गरेर हिँडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुविधामा परेको छ ।”– सिन्ह्वा

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार