भारतबाट घर फर्कने बढेसँगै सीमा क्षेत्रमा कोरोनाको त्रास बढ्दो 

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ 
आइतबार, चैत २२, २०७७

कञ्चनपुर । भारतमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै नेपाली घर फर्कने क्रम बढेको छ ।  घर फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणका दरसमेत बढ्दो छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उप महानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । 
एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका छन् ।  सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हँुदा परीक्षणमा समस्या हँुदै आएको छ । 
सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।  भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन् । सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ ।–रासस

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार