चिनियाँ खोप काठमाडौंमै खपत गर्ने सरकारको तयारी 

छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीलाई मंगलबारदेखि खोप लगाइने
आइतबार, चैत २२, २०७७

काठमाडौं । सरकारले मंगलबारदेखि चिनियाँ खोप लगाउने प्रबन्ध मिलाइएको छ । खोप सरकारले तोकेका अपस्तालहरुबा लगाइने छ । नेपालले भर्खरै चीनले अनुदानमा दिएको ८ लाख मात्राको सिनोफार्म खोप बेइजिङ्बाट ल्याएको थियो । उक्त खोप नेपालका लागि चिनियाँ राजदूत होउ याङजीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर हस्तान्तरण गरेकी थिइन् ।  औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

कसलाई लगाइन्छ चिनियाँ खोप ?
‘चीनबाट प्राप्त भेरोसेल खोप काठमाडौंका तोकिएका अस्पतालहरूबाट दिने प्रबन्ध मिलाइएको छ । अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थी, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिँदै भने ।  यो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ । 

अत्यावश्यक सेवामा संलग्नहरूमा को–को पर्छन ?
‘नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाहरू जस्तो स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायातका सेवामा सामेल अनि औषधि व्यवसायमा संलग्नहरू पर्छन्’, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख झलक गौतमले भने ।  केही साता अगाडि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीन आवतजावत सहज गराउन लागेको समाचार प्रकाशित भएका थिए ।  त्यसैको पृष्ठभूमिमा चीनमा अध्ययनरत विद्यार्थी तथा चीनसँग व्यापारमा संलग्न व्यापारीलाई चिनियाँ खोपमा प्राथमिकता दिन लागिएको ठानिएको छ । नेपालले हालसम्म अक्सफोर्ड–अस्ट्राजेनेका खोपमात्र वितरण गरिरहेको छ । १७ लाख ९० हजार १२५ जनालाई खोप दिइसकेको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयसँग अब करिब साढे पाँच लाख मात्रा खोप बाँकी छ । पहिलो खोप लगाएकाहरूलाई दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने भनिएको छ । तर ६५ वर्ष माथि उमेर समूहका निम्ति दोस्रो मात्राको निम्ति आवश्यक खोपको आयात अझै अनिश्चयमा नै छ ।  भारत सरकारले अनुदानमा दिएको १० लाख, अन्तर्राष्ट्रिय खोप सहयोग सञ्जाल कोभ्याक्सबाट आएको साढे ३ लाख तथा सिरम इन्स्टिच्युटसँग किनेको २० लाखमध्ये आइपुगेको १० लाख मात्राको अस्ट्राजेनेका खोपको मद्दतमा सरकारले खोप अभियान थालेको थियो । बाँकी १० लाख मात्रा अनि थप खोप आयातको काम अहिले अवरुद्ध रहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार