हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा 

बिहीबार, असार १६, २०७९

खोटाङ । दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकोमा ९६ प्रतिशत अर्थात ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सह-संयोजक प्रकाश घिमिरेले बताए । 

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा हलेसी तुवाचुङ जिल्लाकै पुर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । 

१६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो । नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पुर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह-संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको मेयर बिमला राईले बताइन् । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार