हृदयाघातका कारण म्याराडोनाको निधन 

बिहीबार, मंसिर ११, २०७७

बेनोस आइरिज । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो । उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए । आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, ‘तिमी सधैँ हाम्रो हृदयमा रहनेछौँ ।’ उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए । त्यसबेला उनी २१ वर्षका थिए ।

तीन दिनको शोक
आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, ‘तिमिले हामीलाई विश्वको उच्च तहमा पु¥यायौ, हामीलाई निकै खुशी दियौ । हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ ।’ म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए । आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए । आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर संघर्ष गर्नु प¥यो । सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे । व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए । म्याराडोना सन् २०१० मा आर्जेन्टिनाले विश्वकप खेल्दा राष्ट्रिय टोलीका प्रशिक्षक थिए । सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए । 

पेलेद्वारा भावुक श्रद्धाञ्जली
उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ । ब्रजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेखेका छन्, ‘कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ ।’ ‘भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वरले परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ–एक दिन आकाशमा सँगै बल खेल्ने छौँ ।’

श्रद्धा र प्रशंसा
विश्व फुटबलबाट म्याराडोनाको निधनमा शोक प्रकट गरिनुका साथै उनको प्रशंसा भइरहेको छ । आर्जेन्टिनाका लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको टिप्पणी गरेका छन् । क्रिस्टियानो रोनाल्डोले उनलाई फुटबलका अद्वितीय जादुगरको संज्ञा दिएका छन् । इटलीमा म्याराडोनाले आफ्नो उत्कृष्ट क्लब फुटबल खेलेका नापोलीका प्रशंसकहरूले पनि सडकमा उत्रिएर श्रद्धा व्यक्त गरिरहेका छन् । रोममा पोप फ्रान्सिसले म्याराडोनालाई देशवासी सरह स्नेहपूर्व सम्झना गर्ने बताएका छन् ।

सडकमा शोक
आर्जेन्टिनाका जनता आफ्ना सम्भवतः सबैभन्दा प्रख्यात छोरा महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको शोकमा परेका छन् ।
आफ्नो विशिष्ट प्रदर्शनका कारण सन् १९८६ को विश्वकपमा देशको जीत सुनिश्चित गरिदिएका ती नक्षत्र गुमाउनु पर्दाको शोक प्रकट गर्न मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी बेनोस आइरिजको केन्द्रभाग र म्यारोडोनाले खेलेको रंगशाला आसपासमा मानिसहरूको भीड छ । उनलाई इतिहासमा महान फुटबल खेलाडीको रूपमा स्मरण गरिने बताउँदै बीबीसीका एकजना संवाददाता भन्छन्, ‘तर उनी त्योभन्दा धेरै थिए, लागु औषधको प्रयोग, थुप्रै कान्डहरू र तानाशाह राजनीतिज्ञहरूसँगको मित्रताका कारण उनी देव र दैत्य दुवै थिए ।’ आफ्नो खेल जीवनभरी उनले विभिन्न आरोप र पछिल्लो जीवनकालमा शारीरिक अस्वस्थतासँग जुध्नु परेको थियो ।

दूरदर्शिता र गतिको दुर्लभ संयोजन 
प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो । ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे । उनी अनेकौँ विवादमा परे । लागुपदार्थ दुव्र्यसनमा परे र मैदानबाहिर निजी संकटको दलदलमा पनि फसे । सन् २०१८ को विश्वकपमा म्याराडोनाले आर्जेन्टिनाको समूह खेलमा उपस्थिति जनाएका थिए ।

छोटा–मिठा फुटबल प्रतिभा
उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए । सानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन् । उनले ४९१ वटा खेलमा २५९ गोल गरे । फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकाय फिफाद्वारा मतदान नियम परिवर्तन गरेर दुवै खेलाडी सम्मानित हुनुअघि उनले २० औँ शताब्दीका महान् खेलाडी निर्धारण गर्न आफ्ना दक्षिण अमेरिकी प्रतिस्पर्धीसँगै एउटै पोलमा उभ्याएका थिए । म्याराडोनाले सानै उमेरदेखि विलक्षण प्रतिभा देखाए । जुनिअर टोली ला सेबोलिटसको नेतृत्व गर्दा उक्त टोलीले अपराजित १३६ वटा खेल खलेको थियो । त्यसपछि १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेलमा अवसर पाए । पाँच फुट पाँच इन्चका छोटा र गठिला । तर बल छल्ने कला, फुर्तिलोपन, अवसर छोपाइ, बलमाथिको नियन्त्रण, बल घुमाउँदै पास दिने क्षमताले गतिको कमी र यदाकदाको वजन समस्याको पूर्ति गरेको थियो ।

’ईश्वरको हात र शताब्दीको गोल’
आर्जेन्टिनाका निम्ति ९१ खेलमा ३४ गोलले उनको अन्तर्राष्ट्रिय खेलजीवनको केवल एउटा पाटो देखाउँछ ।
उनको नेतृत्वले मेक्सिकोमा देशलाई सन् १९८६ को विश्वकप जितायो र चार वर्षपछि फाइलनमा पु¥यायो । अघिल्लो खेलको क्वार्टरफाइलनको विवादपछि त्यसले उनको जीवनलाई प्रभावित पार्ने पूर्वाभास थियो ।
इङ्ग्ल्यान्डविरुद्धको खेल त्यसै पनि निकै संघर्षपूर्ण थियो । किनकि दुई देशबीच चार वर्षअघि मात्रै फोकल्यान्डस युद्ध भएको थियो । खेल सुरु भएको ५१ मिनेट सकिए पनि गोल हुन सकेको थिएन । म्याराडोना विपक्षी गोलरक्षकलाई रोक्न उफ्रिए र बललाई जालीभित्र छिराए । त्यसैलाई ‘शताब्दी गोल अर्थात् गोल अफ द सेन्चुरी’ को रूपमा वर्णन गरियो । ‘त्यो भव्य थियो भन्नुपर्छ । गोलबारे कुनै सन्देह छैन । त्यो साँच्चिकै विशुद्ध फुटबल प्रतिभा थियो’ टिप्पणीकार बेर्री ड्याभिसले भनेका थिए । म्याराडोनाले एउटा खेल जित्नुभन्दा पनि अंग्रेजलाई परास्त गर्नु महत्वपूर्ण भएको टिप्पणी गरेका थिए ।

नापोलीका हिरो विवादको घेरामा
उनले दुई पटक खेलाडी खरिदको विश्व किर्तिमान कायम गरेका थिए । बोका जुनिअर्स छाडेर स्प्यानिस बार्सिलोनाका निम्ति सन् १९८२ मा ३० लाख पाउन्डमा विक्री भएका उनी दुई वर्षपछि ५० लाख पाउन्डमा इटलीको नापोली क्लबमा सरे । इटलीको स्टुडियो सान पाओलोमा हेलिकप्टरमा उनी पुग्दा त्यहाँ ८० हजार प्रशंसक थिए । उनी एक नयाँ हिरो थिए । उनले इटलीमा आफ्नो खेल जीवनको उत्कृष्ट क्लब फुटबल खेले ।
तर उनी आपराधिक संगठन क्यामोर्वासँग जोडिए, कोकेनको लतमा परे र पारिवारिक मुद्दामा फस्न पुगे । डोपिङ परीक्षणमा पोजिटिभ देखिएपछि उनले १५ महिनाको प्रतिबन्ध समेत बेहोर्नुप¥यो ।

अवकाशपछिको जीवन
परीक्षणमा तेस्रो पटक पोजिटिभ देखिएपछि उनले आफ्नो ३७ औँ जन्मदिनमा फुटबलबाट सन्न्यास लिए । तर समस्याहरूमा पर्ने क्रम रोकिएन । म्याराडोनालाई पत्रकारहरूमाथि गोली चलाएको पहिलाको एउटा घटनामा दुई वर्ष १० महिनाको निलम्बित जेल सजाय दिइयो । कोकेन र मादक पदार्थ सेवन गर्ने बानीले उनको स्वास्थ्य समस्या गम्भीर बनायो । एक बखत उनको तौल बढेर १२८ किलोग्राम भयो । सन् २००४ मा हृदयाघात भएपछि सघन उपचार कक्षमै भर्ना गर्नुपरेको थियो । मोटोपन रोक्ने प्रयासमा उनको ग्यास्ट्रिक–बाइपास शल्यक्रिया गरिएको थियो ।
लागुपदार्थ दुव्र्यसनबाट मुक्ति पाउन सङ्घर्ष गरिरहेका बेला उनले क्युबामा शरण मागे । म्याराडोनाले क्युबाको भ्रमण गर्दा राष्ट्रपति फिडेल क्यास्त्रोसँग भेट गरेका थिए । यस्ता अनेक झमेलाबीच सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीका व्यवस्थापक बने । तर जर्मनीसँग क्वार्टरफाइनलमा ४–० ले हारेपछि उनले उक्त जिम्मेवारी परित्याग गरे । उनको भूमिकालाई लिएर समाचारमा प्राथमिकता पाए र उनीप्रतिको दृष्टिकोण पनि विभाजित बनेको देखियो ।–एजेन्सी
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार