काठमाडौं उपत्यकामा कोभिड फैलिनुका कारण के हुन् ?

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं । नेपालमा विगत दुई महिनादेखि दैनिक परीक्षण गरिने व्यक्तिमध्ये २० प्रतिशतसम्ममा कोरोनाभाइरस संक्रमण पुष्टि हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार संक्रमण पुष्टि भएकामध्ये आधाजसो संक्रमित काठमाडौं उपत्यकाका तीन जिल्लामा फेला पर्ने गरेका छन् । धेरै जनघनत्व र मान्छेको हिँडडुल तथा गतिविधि बढी हुने भएकाले राजधानीमा बढी संक्रमित देखिएको विज्ञहरूले औँल्याएका छन् । केही समयदेखि उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या देशभरि भएका सक्रिय संक्रमितको कुल संख्याको ५० प्रतिशत भन्दा बढी कायम हुने गरेको छ ।

संक्रमणको प्रवृत्ति कस्तो ?
जोन हप्किन्स यूनिभर्सिटीले संकलन गरेको तथ्यांकमा नेपाल कोरोनाभाइरस संक्रमणबाट प्रभावित देखो सूचीमा ३६औँ स्थानमा छ भने दक्षिण एशियामा भारत, बंगलादेश र पाकिस्तानपछि चौथो स्थानमा छ । तर पर्याप्त परीक्षण नहुँदा नेपालमा संक्रमणको वास्तविक स्थिति ठ्याक्कै बताउन कठिन भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार यद्यपि परीक्षण गरिएकामध्ये संक्रमितको प्रतिशत हेर्दा संक्रमण दर उच्च छ । ‘पछिल्लो दुई महिनाकै तथ्यांक हेर्नुभयो भने औसतमा दैनिक २० प्रतिशतसम्ममा सङ्क्रमण पुष्टि हुने गरेको छ जुन एकदम उच्च हो’, उनले भने । जनघनत्व र मानवीय गतिविधिका आधारमा ठाउँअनुसार संक्रमणको स्थिति फरक देखिएको अर्का जनस्वास्थ्यविद् डा. शरदराज वन्त बताउँछन् । ‘सबै ठाउँमा संक्रमण दर समान देखिएको छैन । जहाँ जनघनत्व धेरै छ र मुभमेन्ट धेरै भएको छ, त्यहाँ सक्रिय संक्रमित पनि बढी देखिएका छन्’, उनले भने । यसमा डा.तिवारी पनि सहमत छन् ।

फेरि लकडाउन गर्नुपर्छ ?
कोरोनाभाइरस महामारीको गम्भीरतालाई लिएर नेपालमा जनस्वास्थ्यका मापदण्डहरूको खासै पालना नभएकोमा जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गर्दै आएका छन् । खासगरी लकडाउनको अन्त्य गरिएपछि मानिसहरूले सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा मास्क लगाउने बानीमा गम्भीर नबनेको जनस्वास्थ्यविद् डा.वन्तको ठम्याइ छ । अर्का जनस्वास्थ्यविद् डा. तिवारीको विचारमा कतिपय सार्वजनिक गतिविधिहरू त खुला गर्ने समय नै भएको थिएन । उसोभए के फेरि लकडाउन गर्नुपर्छ त ? डा. वन्तले भने, ‘पहिलाजस्तै एकै पटक सबैतिर त गर्न नपर्ला । सक्रिय संक्रमणको स्थिति हेरेर ठाउँठाउँमा गर्नुपर्ने हुन्छ ।’ संघीय र प्रादेशिक सरकारहरू ‘स्मार्ट लकडाउन’बारे योजना बनाएर अघि बढ्नुपर्ने डा.तिवारीको सुझाव छ ।
‘मलाई लाग्छ अन्तरप्रदेशसम्बन्धी गतिविधिबारे संघीय सरकारले गर्नुपर्ने हुनसक्छ । स्थानीय तहमा गर्नुपर्ने कुरा प्रदेश सरकार आफैँले गर्न सक्छन्’, उनले भने, ‘कति सक्रिय सक्रिय संक्रमित भए भने लकडाउन गर्ने लगायतका विषयमा एउटा मापदण्ड बनाएर स्थानीय तहमा त्यसको कार्यान्वयन गर्न सकिन्छ ।’ हालै काठमाडौं उपत्यका मेयर फोरमले संक्रमणको विस्तार रोक्न चाडबाड सकिएलगत्तै कडा लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो ।
तर ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले फेरि निषेधाज्ञा वा लकडाउन गर्ने विषयमा कुनै छलफल नभएको बताएका थिए ।

अहिलेको अवस्था के छ ?
पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको छ । संक्रमणदर उच्च देखिए पनि कोभिड–१९ सँग सम्बन्धित कारणले थोरै संक्रमितको मृत्यु भएको बताइन्छ । ६० वर्षभन्दा माथिको उमेरका संक्रमितमा मृत्युदर उच्च छ । हालसम्मको तथ्यांकलाई हेर्दा नेपालमा निको हुने दर झन्डै ९० प्रतिशतभन्दा बढी छ ।–बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार