श्वेतपत्र जारी गर्दै वीरगञ्ज महानगरपालिका

बुधबार, जेठ २५, २०७९

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरको  वस्तुस्थितिबारे नगवासीलाई  जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख  राजेशमान सिंहले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी  दिए । 
श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उनको भनाइ छ  । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।

जिसस पर्साको नयाँ नेतृत्व जेठ २७ मा

जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाबमोजिम नेतृत्व चयनका लागि जेठ २७ गते मतदान हुने र  सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
नौ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीनजना महिला सदस्य, दलित वा अल्पसङ्ख्यक मध्येबाट एकजना र तीनजना अन्यबाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ । जिल्लामा कुनै एक राजनीतिक दलको स्पष्ट बहुमत छैन ।
नेपाली कांग्रेसको पालिकाको प्रमुख र उपप्रमुखसहित १२ मत छ भने नेकपा (एमाले) १०, जनता समाजवादी पार्टी (जसपा) को ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक  छ । अन्य दलभन्दा कांग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । 
समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् भने समितिमा  पालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधि उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार