धमाधम जिल्ला समन्वय समितिको निर्वाचन 

बाँकेमा २७ गते, जुम्लामा २९  र म्याग्दीमा असार ५ मा 
मंगलबार, जेठ २४, २०७९

काठमाडौं । जिल्ला समन्वय समितिका निर्वाचनहरु धमाधम भइरहेका छन् । स्थानीय तहबाट निर्वाचित भएका मध्येबाट समन्वय समिति चयन हुने गर्दछ ।  निर्वाचन कार्यविधिअनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् ।  समन्वय समितिले जिल्ला भरका पालिकाहरुबीच विकास निर्माणलगायतका काममा समन्वयकारी भूमिका निर्वाह गर्दछ । यसै सन्दर्भमा जेठ अन्तिम साता बाँके र जुम्लाका समन्वय समितिको निर्वाचन तय भएको छ ।  
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई  सिफारिस गरेको छ । 
कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिनुभयो । जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा  ( एकीकृत समाजवादी) ले एक उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।
जिससको नयाँ नेतृत्व चयनका लागि यही जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।

बाँके जेठ २७ मा निर्वाचन 
जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ ।
सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बाँकेमा आठ पालिकाका १६ प्रमुख र उपप्रमुख मतदाता छन् ।
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ । कांग्रेसका १२ मतदाता छन् । स्थानीय चुनाव र कार्यपालिका चुनावमा दुवैमा गठबन्धन गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुङ्गो अझै लागेको छैन । समितिमा प्रमुख र उपप्रमुखसहित नौ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।
जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ । जिल्लासभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुख पदेन सदस्य हुन्छन् ।

म्याग्दी जिससको निर्वाचन असार ५ मा
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो ।
जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गर्ने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरीउपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । 
यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्तासँगै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ । २ गते उम्मेदवारउपर उजुरी, सोही दिन जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसँगै उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । 
छ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सङ्ख्याअनुसार जिससमा नेकपा (एमाले) को बहुमत देखिएको छ । निर्वाचन कार्यविधिअनुसार छ स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् । जिल्ला समन्वय समितिका लागि १२ मतमध्ये सात मत एमालेको रहेको छ भने गठबन्धनतर्फ कांग्रेसको तीन मत र माओवादी केन्द्रको दुई मत रहेको छ ।
जिसस प्रमुखका लागि एमालेतर्फबाट पार्टीका जिल्ला सहसचिव एवं बेनी नगरपालिका वडा नं १ वडा सदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ ।

मुस्ताङमा निर्विरोध 

यसैबीच मुस्ताङमा भने जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा ९एमाले० र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेका छ सदस्य र राप्रपाका एक सदस्य निर्विरोध भएका छन् ।
जिसस निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकामा एमाले र राप्रपाको मात्र एकल उम्मेदवारी परेकाले उनीहरु स्वतः निर्विरोध निर्वाचित भएको जनाइएको छ ।–रासस 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार