मुगुमा सामाजिक सुरक्षा भत्ता लिनै सकस, आवतजावत भाडामै सकिन्छ भत्ता 

बिहीबार, मंसिर ११, २०८२

मुगु । हिमाली जिल्ला मुगु भौगोलिक विकटता, यातायात र सञ्चार क्षेत्रको पहुँचको अभावका कारण सामाजिक सुरक्षा भत्ता लिन सकस भएको छ । सदरमुकाम गमगढी वा स्थानीय तहान रहेका बैंकसम्म पुग्न वृद्धवृद्धा, बालबालिका, गर्भवती, अपाङ्गता भएका लाभग्राहीलाई सास्ती भएको हो । लाभग्राहीलाई मंहगो गाडी भाडा पर्ने गरेकारले सामाजिक सुरक्षा भत्ता बाटो खर्चमै सकिने गरेको गुनासो छ ।   सोरु गाँउपालिका वडा नम्बर ११ बस्ने ललिता मल्ल शारीरिक रुपमा अशक्त छिन् । उनलाई घरबाट पालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकसम्म पुग्न दुई दिन लाग्ने गरेको सुनाउँछिन् । ‘गाडीबाट आवतजावत गर्दा करिब तीन हजार खर्च लाग्छ । भत्ता पाउँदा निकै खुसी थियौं, तर भत्ता लिन आँउदाजाँदा सबै रकम बाटोमै ठिक्क हुन्छ,’ उनले भनिन् ।  सोरु गाँउपालिका वडा नम्बर ५ का ७३ वर्षीय ज्येष्ठ नागरिक रन्नबिर शाहीको पनि समस्या उस्तै छ । ‘प्रत्येक महिना पाउने भत्ता ४ हजार छ । त्यसमा एक हजार भन्दा बढी गाडी भाडामै सकिन्छ । बाँकी रकम घर खर्चमा चलाउने गरेको छु । भत्ता वडा कार्यालयबाट वितरण गरिदिए राम्रो हुनेथियो’, उनले भने ।  सोरुमा मात्र सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक ६ सय १२, एकल महिला ३९, ज्येष्ठ नागरिक क्षेत्रगत ४ सय ५१,  बिधवा आर्थिक सहायता १ सय ४८, क बर्ग अपाङ्गता ४७, ख वर्ग अपाङ्गता ९८, क्षेत्र तोकिएका बालबालिका १ हजार ६ सय ३३ जना गरी जम्मा तीन हजार २८ जना गरी एक चौमासमा मात्र १ करोड ५६ लाख ९६ हजार २ सय ५४ रुपैयाँ वितरण हुने गरेको छ । अब वडा कार्यालयबाट सामाजिक सुरक्षा बितरण गर्ने प्रयास गरिरहेको सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार