सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । छिमेकी भारतमा कोरोनाभाइरस सङक्रमणको नयाँ लहर देखा परिरहँदा नेपाल छिर्ने सीमा नाकामा आफूहरूले कडाइ गरे पनि स्रोतसाधनको अभाव खेपिरहेको प्रदेश सरकारका अधिकारीहरूले बताएका छन् । भारतमा आइतवार ६८,००० र सोमवार ५६,००० जनाभन्दा बढी सङ्क्रित फेला परेको थिए । विगत एक सातामा प्रत्येक दिन औसत ५०,००० जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट ठूलो संख्यामा नेपालीहरूको आवतजावत हुने सुदूरपश्चिम प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासकले नाकामा सञ्चालित जाँच चौकीमा जनशक्तिको अभाव रहेको बताएका छन् । प्रदेश नं १ र २ का स्वास्थ्य अधिकारीहरूले पनि भारतमा कोभिडको नयाँ लहर देखिएसँगै आफूहरू सतर्क भएको र परीक्षणको दायरा बढाउन काम अघि बढाएको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार एक साताको अवधिमा गरिएका लगभग साढे १५ सयवटा एन्टिजन परीक्षणमध्ये ४७ जनामा सङ्क्रमण पाइएको छ । उनका अनुसार स्थानीय स्तरमा परीक्षणको सेवा उपलब्ध नभएकाले ती व्यक्तिहरूबाट स्वाब संकलन गरेर राजधानीस्थित राष्ट्रिय प्रयोगशाला पठाइएको छ । उनले सीमानाकामा पर्याप्त जनशक्तिको व्यवस्थापन हुन नसकेको भन्दै त्यसले महामारी नियन्त्रणमा चुनौती निम्त्याइरहेको बताए । ‘गड्डाचौकीमा म जाँदा एकजना मात्रै प्राविधिक स्वास्थ्य कर्मचारी हुनुहुन्थ्यो । त्यहाँ एउटा शिफ्टमा खासमा छ कर्मचारी चाहिन्छ । एक जना अभिलेख राख्ने चाहिन्छ, एक जना तापक्रम नाप्ने, एक जना प्रयोगशालाको मान्छे हुनुपर्छ अनि एक जना पालो दिने चाहिन्छ । तर त्यो अवस्था छैन’, उनले भने । यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको भन्दै उनले अर्काे प्रमुख नाका गौरीफन्टामा पनि त्यस्तै अभाव रहेको बताए ।
भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको छ ।
‘सबैभन्दा बढी चल्ने गौरीफन्टा नाका हो, त्यहाँ पनि दुई कर्मचारी मात्रै पठाइयो भनेपछि हामीले ५–६ जना व्यवस्थापन गरेर पठाएका छौँ । सीमानाका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेर्ने भनेको छ । उहाँहरू–कर्मचारी राख्न सम्बन्धित पालिकाहरूमा पैसा पठाएका छौँ’ भन्नुहुन्छ । पालिकाहरू ‘गर्दैछौँ’ भन्छन्, तर पर्याप्त जनशक्तिको व्यवस्था हुन सकिरहेको छैन’, उनले भने । उनले ज्वरो लगायतका लक्षण देखिएको वा अति जोखिम रहेका भारतका महाराष्ट्रलगायत राज्यबाट आएका व्यक्तिलाई नाकामा परीक्षण गर्न थालिएको बताए । हिजोअस्ति दुई–तीन जनामा मात्रै सङ्क्रमण देखा परिरहेको थियो । सोमवार ३० जनाजतिको परीक्षण गर्दा १५ जनाको पोजिटिभ आएको छ । लक्षणै नभए पनि महाराष्ट्रबाट आएका व्यक्तिलाई पोजिटिभ देखिएको अवस्था छ । यदि सचेतना अपनाइएन र यहाँबाट गएका व्यक्तिहरू घरमै एक्लिएर राम्रोसँग बस्नुभएन वा पालिकाहरूले ध्यान दिन सकेनन् भने गाउँमा फैलिन सक्ने सम्भावना प्रबल हुन्छ । ‘हामीले नाका प्रवेश गरिरहेका व्यक्तिहरूलाई कम्तीमा १० दिन घरभित्र बस्न वा बाहिर कसैको पनि सम्पर्कमा नजान भनिरहेका छौं’ उनले भने ।
प्रदेश नं १ मा एन्टिजन परीक्षण सुरु हुन बाँकी प्रदेश नं १ का क्षेत्रीय स्वास्थ्य निर्देशक डा. ज्ञानबहादुर बस्नेतका अनुसार अघिल्लो साता विराटनगरमा २७ वटा परीक्षण गर्दा १२ जनामा कोभिड–१९ पुष्टि भएपछि ‘उच्च सतर्कता’ अपनाइएको छ । ‘हामीले घटनाहरूको अनुसन्धान र सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) लाई थप बढाउने निर्णय गरेका छौँ । भारतमा जुन हिसाबले सङ्क्रमणको दर बढिरहेको छ त्यो हेर्दा हामीले थप सतर्क हुनुपर्ने छँदैछ’ उनले भने । उनका अनुसार क्वारन्टीन र आइसोलेशनलाई पनि बढाउँदै लैजाने योजनाबारे कुरा भएको छ । भारतमा बढ्दै गएको सङ्क्रमणदरलाई ध्यान दिँदै देशभरि आफू मातहत रहेका निकायलाई स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो । पीसीआर सम्भव नभएको अवस्थामा एन्टिजन विधिमार्फत् परीक्षण गराउन मन्त्रालयको सुझाव थियो । डा.बस्नेतका अनुसार नाकाहरूमा स्वास्थ्य जाँच चौकी स्थापना भइसके पनि एन्टिजन परीक्षण सुरु भइसकेको छैन । उनले यसै साताभित्र उक्त काम सुरु हुने भन्दै त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरिने बताए । नेपाल र भारतबीच खुला सीमा रहेकाले नाकाबाट हुने आवतजावत निगरानी गर्न चुनौती रहेको डा. बस्नेत ठान्छन् ।
प्रदेश नं २ को तयारी प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विजय झाका अनुसार ‘दोस्रो लहरले समस्यामा पार्न सक्ने’ भएकाले सावधानी बढाइएको छ । उनले भने, ‘हामीले अस्पतालको तयारी गर्ने काम, क्वारन्टीन र आइसोलेशनको तयारी गर्ने काम गरिरहेका छौँ । हामीले एन्टिजन परीक्षणहरू पनि थालेका छौँ । नाकाहरूमा होलीपछि अझ धेरै जाँच चौकीहरू स्थापना गर्न लागका छौँ ।’ उनले सङ्क्रमितहरूलाई लक्षित गर्दै स्थानीय तहहरूले नै क्वारन्टीन र आइसोलेशन व्यवस्थापन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । डा.झाका अनुसार भारतमा नयाँ लहरको सङ्क्रमण देखा परेपछि प्रत्येक दिनको अवस्था निगरानी गरिए पनि प्रदेश नं २ मा सङ्क्रमणमा खासै वृद्धि देखिएको छैन । नाकाहरूमा दैनिक ३० देखि ५० वटासम्म एन्टिजन परीक्षण गरिएकोमा ‘सबैमा नेगेटिभ आइरहेको’ र परीक्षणको संख्या अझ बढाउन लागिएको उनको भनाइ छ । प्रदेश नं २ ले हाल लक्षण भएका व्यक्तिहरूको मात्रै परीक्षण गर्ने गरिरहेको अधिकारीहरू बताउँछन् । केन्द्र सरकारसँग समन्वयन गरेर ‘युद्धस्तर’ मा सम्भावित अवस्थाको पूर्वतयारी अघि बढाइएको डा. झाले बताए । उनका अनुसार विगतमा प्रदेश नं २ मा २० वटासम्म जाँच चौकीहरू स्थापना गरिएका थिए । खुला सीमा रहेकाले लगभग सबै ठाउँबाट आवतजावत गर्न मिल्ने भए पनि निगरानी गर्न स्रोत र साधनको अभाव रहेको डा. झा बताउँछन् । अघिल्लो साता मुख्यसचिवको नेतृत्वमा भएको समितिले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई नेपाली प्रवेश गर्ने सीमानाकामा निगरानी बढाउन र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको थियो । उक्त संयन्त्रले हाल सञ्चालनमा रहेका सीमा नाकालाई कोभिड–१९ को सङ्क्रमणको अवस्था हेरी पुनरवलोकन गर्न र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।–बीबीसी