थ्री नेसन्स कपको उपाधि नेपाललाई

फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो
सोमबार, चैत १६, २०७७

काठमाडौं । नेपाली फुटबल क्षेत्रका लागि सोमबार सुखद्  दिन बन्यो । घरेलु मैदानमा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएर सुखद् दिन बनेको हो । यो उपाधिसँगै नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा गरेको एक–एक गोल नै खेलको निर्णायक गोल बने । नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि हो । यसअघि सन् १९८४ मा नेपालले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्काे उपाधि जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो । नेपालले सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो । फाइनलको पहिलो हाफमा बंगलादेशमाथि लगातार आक्रमण बनेको नेपालले १८ औं मिनेटमा गोल गरेको हो । सुनिल बलको कर्नर बंगलादेशको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेपछि सन्जोगले गरेको प्रहार प्रतिद्वन्द्वी खेलाडीलाई छल्दै गोलमा परिणत भएको थियो । सन्जोगको यो पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय गोल हो । खेलको ३० औं मिनेटमा अञ्जन विष्टले बंगलादेशी गोलरक्षक अनिसुर रहमान अगाडि बढेको बेला गरेको चिप प्रहार पोस्टको ठीकमाथिबाट बाहिरिएको थियो । नेपालको दोस्रो गोल विशालको नाममा रह्यो र यो ४२ औं मिनेटमा सम्भव भएको थियो । बंगलादेशी गोलरक्षक रहमानविरुद्ध वान भर्सेस वानमा उनले सटिक गोल गरे । रञ्जित धिमालले सिर्जना गरेको पासमा संजोगले ‘हल्का टच’ गर्दै पास मिलाएका थिए । विशालको यो दोस्रो गोल हो । दोस्रो हाफमा  पनि नेपालले लगातार दबाब कायम राख्न सफल भयो । पूरा खेल अवधिमा बंगलादेशले नेपालमाथि पर्याप्त गतिलो आक्रमण गर्न सकेन । ८३ औं मिनेटमा मेहबुब रहेमानले हेडबाट गोल गरे । कप्तान जमाल भुयाको कर्नरमा यो गोल भएको हो ।
नेपालले फाइनलका लागि सुरुआती टिममा दुई परिवर्तन गरेको थियो । विशाल राई र सुनिल बलले सुरुदेखि खेलेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार