सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुग्दै छ । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार सामाजिक सञ्जालमार्फत् नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी ‘बेइजिङ आइपुगेको र केही दिनमै नेपालमा आउने’ जनाएको थियो । सोमवार नेपाल आइपुग्ने ठानिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ । यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । कति खोप आउँदैछ ? चीनबाट आठ लाख मात्रा (डोज) खोप नेपाल आउँदै छ । चिनियाँ दूतावासले पनि फेसबुकमा तस्बिर राख्दै आठ लाख मात्रा खोप नेपाल ल्याउनका लागि बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जनाएको थियो । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्ने अधिकारीहरूले बताए । यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ । चिनियाँ खोप कसले लगाउन पाउँछन् ? सहप्रवक्ता अधिकारीले खोप आइसकेपछि मन्त्रालयले कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने तय गर्ने जानकारी दिए । सरकारले चाँडै नै उक्त खोपबारे निर्णय गर्नेछ । त्यस्तो निर्णय गर्नका लागि राष्ट्रिय खोप सल्लाहकार समितिका सुझावहरूलाई समेटिने अकिारीले बताए । राष्ट्रिय खोप सल्लाहकार समितिले पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिनुपर्छ भन्ने सुझाव दिएको छ । अधिकारीहरूका अनुसार अहिले नै ठूलो संख्यामा खोप उपलब्ध नभइसकेकाले सकेसम्म बढी संवेदनशील र खोपको आवश्यकता भएको समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ ।
डब्लूएचओको निर्णय पर्खन सुझाव राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त चिनियाँ खोप डब्लूएचओको निर्णयपछि प्रयोग गर्न सुझाव दिएको छ । चिनियाँ खोप नेपाल आएर सरकारले कसलाई उक्त खोप दिने भन्ने निर्णय गरुन्जेल डब्लूएचओको निर्णय पनि आउने अपेक्षा गरिएको छ । हाम्रो कानुनले त उत्पादन भएको मुलुकमा प्रयोग भइरहेको खोपलाई प्रयोगको अनुमति दिन मिल्छ । तर हामीले डब्लूएचओको निर्णय भइसकेपछि व्यवस्था मिलाएर प्रयोग गर्न सुझाव दिएका छौँ एक अधिकारले भने । यसै महिना (मार्च) को अन्त्यसम्ममा उक्त खोपले आकस्मिक प्रयोग अनुमति पाउनसक्ने डब्लूएचओका अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताइसकेका छन् । नेपालले प्रयोग गर्ने बेलासम्म डब्लूएचओले उक्त खोपलाई आकस्मिक प्रयोगको सूचीमा राखे नेपाललाई प्रयोग गर्न सहज हुनेछ । चिनियाँ खोपका विशेषता चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफोर्ड÷अस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने छ । सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको छ । यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ । हालसम्म नेपालमा कतिले खोप लगाए ? अधिकारीहरूका अनुसार आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् । त्यो भनेको नेपालको कुल जनसङ्ख्याको ५.९३ प्रतिशत हो । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउन पाउनेछन् । अहिले नेपालमा करिब साढे पाँच लाख मात्रा खोप बाँकी रहेको छ भने भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट १० लाख मात्रा आउन बाँकी छ ।