सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरले आइतबारबाट कोभिड–१९को परीक्षणका लागि समुदायमा स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेको थियो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरे । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताए । महानगरपालिकासँग भएको थोरै जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइरहेको पनि उनले जानकारी दिए । ‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र ज्येष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन् । उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौं’, शाक्यले भने । कन्ट्रयाक ट्रेसिङमा परेकालाई पनि निःशुल्क उपचार गर्ने उनले जानकारी पनि दिए । संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गरे । सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ । यसमा जसको स्वाब लिइएको छ, उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो । महानगरपालिकाका अनुसार सोमबारदेखि वडास्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ ।