सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालसहित विभिन्न देशमा कोरोनाका गम्भीर खालका बिरामीको उपचारका लागि रेमडिसिभिर औषधिको प्रयोग गरिएको छ । रेमडिसिभिर औषधिको प्रभावकारिता र साइड इफेक्टलाई लिएर विभिन्न देशमा अध्ययन र अनुसन्धान भइरहेका छन् । नेपालमा पनि यसको प्रभावकारितालाई लिएर अध्ययन चलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग नगर्न आग्रह गरेको छ । डब्लुएचओले एक गाइडलाइन सार्वजनिक गर्दै कोभिडको उपचारमा यसको प्रभावकारिता पुष्टि नभएकाले बिरामीको अवस्था हेरी यसको प्रयोग नगर्न आग्रह गरेको हो । गाइडलाइनमा भनिएको छ, ‘हालसम्म रेमडिसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएको डब्लुएचओ यसको प्रयोग नगर्न आग्रह गर्दछ ।’ डब्लुएचओले रेमडिसिभिरको प्रयोग नगर्न आग्रह गरे पनि तत्काल यस विषयमा कुनै निर्णय नभएको औषधि व्यवस्था विभागले जनाएको छ । डब्लुएचओले रेमडिसिभिरको प्रभावकारिता माथि प्रश्न उठाए पनि नेपाल र भारतमा भने यसको प्रयोगले कोरोनाका बिरामीलाई राम्रो गरेको पाइएको सरकारी अधिकारीको दाबी छ । भारतमा रेमडिसिभिरको प्रयोगले छोटो समयमा पनि राम्रो काम गरेको केही अध्ययनले देखाएको छ । नेपालमा पनि यसलाई राम्रो नै मानिएको छ । तर डब्लुएचओको सोलिडारिटी ट्रायलले चाहिँ यसको प्रभावकारिता माथि प्रश्न उठाएको देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको प्रारम्भिक अध्ययनमा रेमडिसिभिरको प्रयोगले कोरोनाका बिरामीको ज्यान जोगाएको र राम्रो गरेको पाइएको थियो । परिषदले गरेको प्रारम्भिक अध्ययनमा रेमडिसिभिरको प्रयोगले बिरामीको ज्यान जोगाउन सफल भएका र राम्रो गरेको पनि देखिएको छ । त्यसैले यो विषयमा विभागले तत्काल कुनै निर्णय गरिसकेका छैन । नेपालमा हाल भइरहेको रेमडिसिभरको क्लिनिकल अध्ययन जारी नै रहने सरकारी अधिकारीको भनाइ छ । भर्खरै जारी भएको औषधि (तेस्रो संशोधन) अध्यादेशले पैठारी गरिएको औषधि वा खोपको प्रभावका कारण प्रयोगमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ । साथै ती औषधि सूचीकृत गर्ने वा दर्ता गर्ने वा त्यस्तो औषधि वा खोपको प्रयोग वा अनुमति प्रदान गर्ने निकायले रोक लगाएमा पनि विभागले ती औषधि वा खोपको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर साउन २६ मा औषधि प्रयोगका लागि अध्ययन गर्ने निर्णय गरेको थियो । सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा मात्र यो औषधि प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक प्रारम्भिक अध्ययनले रेमडिसिभिर औषधिको साइड इफेक्ट अति कम रहेको देखाएको थियो । परिषदको अध्ययनमा रेमडिसिभिर औषधिको साइड इफेक्ट ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ । अक्सिजन आवश्यक परेर अस्पताल भर्ना भएका संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्दा प्रभावकारी देखिएको सरकारी अधिकारीको भनाइ छ ।