अस्ट्राजेनिका खोप कोरोनाभाइरस सङ्क्रमण रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन 

सोमबार, चैत ९, २०७७

वासिङ्टन । कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।  अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरूले जनाएका छन् । परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।  त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरूले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गरे ।  युरोपेली मुलुक लगायत कतिपय मुलुकहरूले खोपको प्रभावकारीता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो ।  यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरूले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ । तर कतिपय देशहरूले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् ।  विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरूले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् ।  कतिपय देशहरूले यो खोप लगाउन रोकेको र कतिपयले यो खोप्रति शङ्का उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरू फेरि ढुक्क हुने भएका छन् ।–एएफपी 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार