सोसल मिडिया
Contact Us
युनिकोड
क्वालालाम्पुर (फिलिपिन्स), २८ वैशाख । फिलिपिन्समा पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छन् । पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ विजयी भएका छन् । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कूल मतको ५६ प्रतिशत मत पाएका छन् । त्यो सङ्ख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिसहित देशभरबाट झन्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यसअन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसद्का प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरू तय गरिएको निर्वाचन आयोगले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउनेसम्मका प्रतिबद्धताहरू जनाउनुभएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए । पूर्वसिनेटर समेत रहेका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन् । अहिलेका राष्ट्रपतिको छ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरू भएका छन् । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरू आठ जनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।– रासस/सिन्ह्वा