अधिकांश राजमार्गमा बाढीले पुर्‍यायो क्षति

कतै पहिरोले अवरुद्ध, कतै जमिन भासिँदा असहज

आइतबार, असोज ११, २०८३

काठमाडौं । केही दिनयता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढीपहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ । संघीय राजधानी जोड्ने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ । यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।  सडक विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समस्या भएको छ । यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको छ ।  कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् । ‘नयाँ ट्र्याक खोलेको खण्डभन्दा माथिबाट लेदो माटो बगेर आइरहेको छ, पहिरो झर्ने जोखिम कायमै छ,’ उनले भनिन्, ‘शनिबार केही समय पानी रोकिएपछि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई पठाइएको हो, राजमार्ग खुला गरिएको होइन ।’ पानी पर्न नरोकिँदासम्म सवारीसाधन खोल्न सक्ने अवस्था नभएको उनले सुनाइन् ।  गत १४ भदौमा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्र्याक खोलेर १८ दिनपछि यातायात सञ्चालन गरिएको थियो ।  पृथ्वी राजमार्गअन्तर्गत नै मलेखु–मुग्लिन खण्डकै धारापानीमा सडक भासिएको छ । ‘त्यहाँ ७० मिटर दूरीमा दुई ठाउँमा २०–२० मिटर सडक भासिएको छ,’ योजना प्रमुख अधिकारीले भनिन्, ‘तलबाट त्रिशूली नदीले कटान गरेको छ, यस ठाउँमा पानी परिरहेकाले तत्काल सडक बनाउन सक्ने अवस्था छैन ।’  बीपी राजमार्गमा पनि शुक्रबारबाट सवारी आवागमनमा रोक लगाइएको छ । राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा खण्डको अस्थायी डाइभर्सन बाढीले बगाएको छ । शनिबार चौकीडाँडा, कटुन्जेमा पहिरो पन्छाइएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । गिम्बिबेंसीमा ठूलो पहिरो खसेकाले सफा गर्न समय लागेको उनको भनाइ छ । ‘जाइकाले बनाइरहेको पिप्ले–बर्खेखोला खण्डका तीन ठाउँको अस्थायी डाइभर्सन बाढीले बगाएको छ,’ उनले भने, ‘त्यहाँ आइतबार साँझसम्म पानी परेन भने सडक खुलाउने गरी काम गरिरहेका छौं ।’  यता काठमाडौंबाट बाहिरिन–भित्रिन पृथ्वी राजमार्गको विकल्पमा प्रयोग गरिने कान्ति राजमार्गमा पनि पहिरोले समस्या थपिरहेको छ । शनिबार पहिरो पन्छाएर कान्ति राजमार्गमा तरकारी बोकेका, एम्बुलेन्स लगायतका सवारीसाधन खुला गरिएको कान्ति राजमार्ग सडक योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताए ।  ‘पहिरोको जोखिम कायमै रहे पनि यो खण्ड भएर सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्,’ उनले भने, ‘केही दिन पानी पर्ने भनिएअनुसार जोखिम रहेका क्षेत्र आसपास पहिरो पन्छाउन मेसिन तैनाथ राखिएको छ ।’ नजिकिएको दसैंमा सहज रूपमा सवारी चलाउन मिल्ने गरी यस मार्गमा काम गरिने उनले बताए ।  नागढुंगा ओरालोमा १७ भदौमा भासिएको सडक अझै बनिसकेको छैन । त्यहाँ एकतर्फी आवागमन खुलाइएको छ । ग्यास बुलेट, पेट्रोलिमय पदार्थ बोकेका र मोटरसाइकललाई मात्र उक्त खण्ड खुला गरिएको छ । यो मार्ग भएर गुड्ने अन्य सवारीका लागि भने नागढुंगा सुरुङमार्ग चोबिसै घण्टा खोलिएको छ ।  पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पनि विभिन्न खण्डमा पहिरोले सवारी आवागमन प्रभावित बनेको छ । ठाउँठाउँमा समस्या आए पनि पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्दै आएको राजमार्ग आयोजना निर्देशनालयका सूचना अधिकारी सचिन श्रेष्ठले बताए । यस्तै, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिबाङ सडक खण्डका पनि विभिन्न स्थानमा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको सडक विभागले जनाएको छ ।  प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । विभिन्न खण्डमा नयाँ–नयाँ पहिरो आइरहने गरको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार