सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् । पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताए । कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उनलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ । अठ्सट्ठी बर्षीय प्रसिद्ध पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ । उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।’ प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको थियो । उनका प्रवक्ता सहबाज गिल भने, ‘उहाँको शनिबार नै परीक्षण हुँदा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।’ प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उहाँको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ । प्रवक्ता गिलले भने, ‘सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।’ पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड–१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ ।–एएफपी