फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

राष्ट्रपति, उपराष्ट्रपति, १२ सिनेटर, ३०० संसदका प्रतिनिधिर १७ सय स्थानीय प्रतिनिधि चयन हुने
मंगलबार, वैशाख २७, २०७९
Global Ime Bank

मनिला, २७ वैशाख । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार मतदान भएको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् ।
एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय समयानुसार विहान ६ बजे सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपतिका उम्मेदवारहरु मध्ये पूर्व राष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्व सिनेटर समेत रहेका ६४ बर्षका फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहेको दाबी गरिएको छ । उनको प्रमुख प्रतिस्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ बर्षिया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरु बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिनु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका कार्यबहाक प्रवक्ता जोन रेक्स लौडियाङकोले देशभरीका सबै मतदान केन्द्रहरु आयोगको निगरानी र नियन्त्रणमै रहेको जानकारी दिनुभयो । सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उनको भनाई छ ।   
निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरिवी न्युनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषय नै अहिलेका प्रमुख एजेण्डा बनेका छन् ।– रासस/सिन्ह्वा

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार