सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो, २७ वैशाख । श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कफ्र्यु लगाएको छ । सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीस अगाडि प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि उनीहरूको मन्दिरको रुख नजिक सरकारविरोधी प्रदर्शनकारीसँग झडप भएको थियो । श्रीलङ्कामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटको पछिल्ला दिनमा झन विकराल बन्दै गएको छ । जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ । सरकार र सांसदलाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।
भिडन्तमा दुई जनाको मृत्यु, १३९ घाइते
श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसद्ले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।
प्रधानमन्त्रीद्वारा राजीनामा
राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कट समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ । यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए । श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ । सरकार र सांसदलाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।–रासस/सिन्ह्वा