सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४० हजार जना सङ्क्रमित भएका छन् । गत बुधबार एकै दिन ३६ हजारजना सङ्क्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना सङ्क्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सबैभन्दा बढी हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना सङ्क्रमणका कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको छ । जनवरीबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा करीब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।– सिन्ह्वा