जी–७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

बर्लिन, २४ वैशाख । विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् ।
अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्नसकिने सहयोगका बारेमा छलफल गर्नुभएको अधिकारीहरूले जनाएका छन् । जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उहाँहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन् । अहिले जी–७ को अध्यक्षसमेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको हो ।
जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरूसँग भने, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ ।”उनका अनुसार भिडियोमार्फत हुने यस्तो बैठक यसैवर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको हो ।  
दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रूपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको हो ।
बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन् । बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनुहुनेछ ।
जी–७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रूसलाई आक्रमण अन्त्यका लागि दबाब दिने पक्षमा रहँदै आएका छन् ।
जी–७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले पहिलेदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ–आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए ।
गत फेबु्रअरीको अन्त्यतिर रूसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म हजारौँको मृत्यु भएको अनुमानहरू भएका छन् भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ ।– रासस/एएफपी
 

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार