सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतमा सरकारले हालै सुरु गरेको राष्ट्रिय आपत्कालीन तयारी अभियानप्रति सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन् । सार्वजनिक रूपमा बढ्दो त्रासका कारण अत्यावश्यक सामग्रीको खरिदमा समेत उल्लेख्य वृद्धि भएको छ । बेलायती सरकारले अक्टोबर २२ मा ‘बी रेडी’ (तयार रहनुहोस्) अभियान सुरु गर्दै कुनै बाह्य सहयोगबिना ७२ घण्टासम्म जीवनयापन गर्न पुग्ने आधारभूत अत्यावश्यक सामग्री घरमा भण्डारण गर्न नागरिकलाई आग्रह गरेको थियो । बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले उक्त अभियान सञ्चालन गरेको हो । अभियान सुरु भएपछि बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले सन् २०३० अघि नै शत्रु राष्ट्र वा शक्तिबाट आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । यससँगै सरकारले सर्वसाधारणलाई आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको जोहो गर्न आग्रह गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारको घोषणापछि धेरै नागरिकले आर्थिक अभाव र आवश्यक सामग्री भण्डारण गर्न सक्ने आफ्नो क्षमताबारे चिन्ता व्यक्त गरेका छन् । एक स्थानीय बासिन्दाले भने, ‘सबैसँग पहिल्यै आवश्यक सामग्री किनेर भण्डारण गर्ने आर्थिक क्षमता हुँदैन । म खाद्य सहायता प्रदान गर्ने एक संस्थासँग काम गर्छु। हामीले प्रत्येक हप्ता धेरै परिवार तथा एक्लै बस्ने ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गर्दै आएका छौँ । उनीहरूसँग आवश्यक सामग्री भण्डारण गर्न सक्ने आर्थिक अवस्था छैन ।’ सरकारको घोषणापछि खुद्रा व्यापारमा अत्यावश्यक सामग्रीको बिक्री उल्लेख्य रूपमा बढेको छ । सञ्चारमाध्यमका अनुसार एक खुद्रा विक्रेताले रेडियोको साप्ताहिक बिक्रीमा १६० प्रतिशत वृद्धि भएको जनाएको छ । त्यस्तै, अर्को विक्रेताले टर्चलाइटको बिक्रीमा २८४ प्रतिशत, रेडियोको बिक्रीमा ९२ प्रतिशत र पावर बैंकको बिक्रीमा १०६ प्रतिशत वृद्धि भएको जनाएको छ । आतंकित भएर सामान खरिद गर्ने प्रवृत्तिबारे केही स्थानीय बासिन्दाले संयमित भएर आवश्यक सामग्री खरिद गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । एक अर्का स्थानीय बासिन्दाले भने, ‘यो केही हदसम्म अनावश्यक हल्ला वा विवाद पनि हुनसक्छ, तर यसमा सत्यता पनि हुन सक्छ । आजकल सामाजिक सञ्जालमा धेरै कुरा देखिन्छन्, तर कुन कुरा सत्य हो र कुन होइन भन्ने हामीलाई थाहा हुँदैन। यदि मानिसहरूले आवश्यक सामग्री भण्डारण गर्ने हो भने कृपया अहिले नै शान्तपूर्वक खरिद गर्नुहोस्, अन्तिम समयमा आतंकित भएर सामान किन्ने अवस्था नआओस् । यसले परिस्थितिलाई सहज बनाउन र मानिसहरूलाई मानसिक रूपमा केही राहत दिन मद्दत गर्छ ।’ सुपरमार्केटका र्याकहरूमा दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेपछि स्थानीय बासिन्दाको चिन्ता थप बढेको छ । एक स्थानीय बासिन्दाले भने, ‘म निकै चिन्तित छु। केही दिनअघि म वेटरोज सुपरमार्केट गएको थिएँ। त्यहाँ टुनामाछा (क्यानमा प्याक गरिएको माछा) राखिएका सबै र्याक खाली थिए । पानीका बोतलसमेत थिएनन्। जबकि हामी अझै त्यस्तो अवस्थासम्म पुगेका छैनौँ। रक्षामन्त्रीले पनि यसबारे बोल्दा तीन वर्षपछि आउन सक्ने परिस्थितिका लागि तयारी गर्नुपर्ने बताएका थिए।’ -सीसीटीभी प्लस