भवन भत्किँदा चीनमा ५३ जनाको मृत्यु, १० जनाको उद्धार

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

चाङसा, २४ वैशाख । चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ ।
देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३.०३ बजे दिउँसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए ।
खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरू परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
आवासीय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशङ्का गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।
शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवित्तै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

पूर्वी चीनमा पाइलअपमा ५ जनाको मृत्यु, ३ जना घाइते

पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दिउँसो १ः५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको  बताइएको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।–रासस/सिन्ह्वा

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार