सोसल मिडिया
Contact Us
युनिकोड
रियो डे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी सङ्क्रमित भएका पाइएको छ । यतिधेरै नागरिक सङ्क्रमित भएको यो पहिलो पटक हो । ब्राजिलका स्वास्थ्यसम्बन्धी सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा यहाँका ९० हजार ३०३ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा अहिलेसम्म कूल एक करोड १६ लाख ९३ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घण्टाको अवधिमा भएको मृत्युको धेरै सङ्ख्या हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका सङ्क्रमितको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पताललमा श्यया र औषधि अभावसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । मङ्गलबारसम्ममा यहाँका एक करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिल विश्वमा कोभिड–१९ को सङ्क्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।–सिन्ह्वा