दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशत 

मंगलबार, चैत ३, २०७७

नयाँदिल्ली । भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशतमा झरेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बताएका छन् । दिल्लीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या आइतबार ४०७ रहेकोमा सोमबार त्यसमा कमी आई ४०० भन्दा कम सङ्क्रमण पुष्टि भएको छ । ‘यद्यपि दिल्लीको सङ्क्रमण दरमा कहिले ह्वात्तै माथि जाने  र कहिले कम रहने गरेकोले अझै कोभिड–१९ विरूद्ध अपनाइएका सावधानीका उपायलाई केही समय निरन्तरता दिनुपर्ने हुनसक्छ’ स्वास्थ्यमन्त्री जैनले भने । दिल्लीमा कुनै समय कोभिड–१९ सङ्क्रमितको दर करिब १५ प्रतिशत पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमण दरलाई पाँच प्रतिशतभन्दा तल राखिएका स्वास्थ्य प्रणालीले काम गर्ने बताएको छ ।  ‘दिल्लीमा सङ्क्रमण दर करिब दुई महिनादेखि दुई प्रतिशतभन्दा कम रहेको छ । यो अन्य मुलुकको तुलनामा सन्तोषजनक अवस्था हो’ उनले सञ्चारकर्मीहरूसँग भने ।
उनले थपे, ‘राष्ट्रिय राजधानी दिल्लीमा कोभिड– १९ को सङ्क्रमण दर ०.६ मा झर्नु राज्य सरकारका लागि एउटा महत्वपूर्ण उपलब्धी हो । महाराष्ट्रमा कोभिड–१९ सङ्क्रमण दर १६ प्रतिशत रहेको छ भने गुजरातमा दिल्लीभन्दा तेब्बर बढी र पञ्जावमा छ गुणा बढी रहेको छ । पञ्जाबमा सकारात्मकताको दर छ गुणा पुगेको छ भने केरलाको सात गुणा र महाराष्ट्रको सङ्क्रमण दर दिल्लीको तुलनामा ३० गुणा बढी छ ।’ केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा हाल दुई हजार २६२ कोरोना भाइरसका सक्रिय सङ्क्रमित विरामी दुई हजार २६२ रहेका छन् । अहिलेसम्म दिल्लीमा कोभिड–१९ सङ्क्रमित छ लाख ३० हजार ४९३ व्यक्ति निको भई घर फर्किएका छन् । 
यसैबीच, भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित नयाँ विरामीको सङ्ख्या भेटिएका र उक्त अवधिमा १६ हजार ६३७ व्यक्ति निको भई घर फर्किएका छन् ।  ताजा सङ्क्रमितको थप सङ्ख्यासँगै देशभर कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको छ । तीमध्ये एक करोड १० लाखको हाराहारीमा सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १६१ को मृत्यु भएको र अहिलेसम्म यस महामारीका कारण एक लाख ५८ हजार ६०७ ले ज्यान गुमाएका भारतीय अधिकारीहरूले बताएका छन् ।  

करिब तीन करोडले लगाए कोरोना खोप 
करिब तीन करोड भारतीयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको हो ।– सिन्ह्वा 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार