बंगलादेशसँगको पराजयबाट नेपालले के पाठ सिक्ने ? 

नेपाली फुटबल 
बिहीबार, मंसिर ४, २०७७

काठमाडौं । नेपाली फुटबल टोलीको बंगलादेश यात्रा सुख र दुखको संयोग बन्न पुगेको छ । यो यात्राले एकातिर कोरोनाभाइरस संक्रमणले रोकिएको नेपाली खेलकुद क्षेत्रको गियर परिवर्तन गर्ने काम ग¥यो, जुन खेल क्षेत्रको लागि आशाको ठूलो कारण बनेको छ । अर्कोतर्फ यसले फुटबलको कमजोरीका थुप्रै पाटाहरू पनि देखाएको छ । खेलाडीको गोल क्षमताको अभाव फेरि पनि दोहोरिएको देखियो भने टिम संरचनाबारे पनि कतिपयले प्रश्न गरे । समग्रमा यसले विश्वकप छनोट अगाडि राष्ट्रिय टोलीको कमजोरी केलाउने मौका दिएको छ ।

सन्देश
दुई खेलको यो मैत्रीपूर्ण श्रृंखला यस्तो खेल थियो,‘जुन खेल्नु अगाडि नै दुवै देशले जितिसकेका थिए । बाँकी थियो त केवल नतिजाको प्राविधिक परीक्षा मात्रै ।’
कोरोनाभाइरस संक्रमणका कारण आठ महिनादेखि बन्द रहेको नेपाली खेलकुद क्षेत्रमा सरकारले फुटबललाई अन्तर्राष्ट्रिय भ्रमण गर्न स्विकृती दिनु खेल क्षेत्र खुल्ने ‘ब्रेक थ्रु’ जस्तै मानियो । कोरोना कहरमा बंगलादेश पनि मैत्री फुटबलमार्फत् सक्रिय हुने मौका पायो । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘यो फुटबल मात्र होइन, समग्र मै नेपाली खेलकुद क्षेत्र खोल्दै लानुको संकेत थियो ।’अन्ततः भयो पनि उस्तै । फुटबल टोली बंगलादेशको यात्रा पूरा गरेर फर्किनु अगाडि नै सरकारले खेलकुद क्षेत्र निश्चित मापदण्डका माझ खोल्न सकिने गरी फुकुवा गरिदिएको छ ।

प्रदर्शन
अब प्रदर्शनको कुरा गरौँ । दुई खेलको श्रृंखलामा नेपालले एक हार र एक बराबरी ग¥यो । सात महिना प्रशिक्षण लिन नपाउँदा टोलीमा फिटनेशको समस्या थियो नै, त्यसैमा सातजना खेलाडीमा कोरोनाभाइरस संक्रमण देखिनु र केही खेलाडीले चोट बोक्दा टोली शुरू मै कमजोर बन्न पुगेको थियो । त्यस विपरीत नियमित प्रशिक्षण पाएको अनि कुनैपनि खेलाडीमा कोरोनाभाइरस संक्रमण नदेखिएकोले बंगलादेशको टोली नेपालको दाँजोमा बलियो मानिएको थियो । त्यसमाथि उनीहरूलाई घरेलु मैदान र घरेलु दर्शकको साथ त थियो नै । यस्तोमा ढाकामा नेपालको नतिजा चाहेजस्तो हुन सकेन । पहिलो खेल ० का विरुद्ध २ गोलले नेपाल हा¥यो । दोस्रो खेल भने गोलरहित बराबरीमा टुङ्गियो ।
पहिलो खेलको हारमा ‘प्लेइङ ११’ छान्न केही कमजोरी भएको विश्लेषकहरूको भनाइ छ । कतिपयले पहिलो रोजाइका मुख्य खेलाडीको अनुपस्थितिमा पनि प्रशिक्षक बालगोपाल महर्जनले बनाएको टिम संरचनालाई राम्रो मानेका छन् ।
विश्लेषक सञ्जिव मिश्र भन्छन्, ‘हरेक क्षेत्रमा नेपालले बंगलादेशसँग बराबरीकै टक्कर दिएको देखिन्छ । दोस्रो खेलमा त प्रशिक्षकले राम्रो विकल्प सहितको सेट बनाएका थिए । यद्यपि गोल गर्ने क्षमतामा भने विश्लेषणको आवश्यकता देखिएको छ ।’

डेब्यु
दुई खेलमा ६ जना नयाँ खेलाडीहरूले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्न पाउनु अर्थात राष्ट्रिय टोलीमा पहिलो पटक खेल्न पाउनुलाई बंगलादेश भ्रमणको सफल पक्ष मानिएको छ । डेब्यु गर्ने खेलाडीहरू एरिक विष्ट, विकास खवास, छिरिङ गुरुङ , पुजन उपरकोटी, दर्शन गुरुङ र सेसेहाङ आङदेम्बे हुन् । मैत्रीपूर्ण फुटबललाई अधिकांश प्रशिक्षकले नयाँ खेलाडी परीक्षणको अवसरको रूपमा प्रयोग गर्ने हुनाले त्यो अवसरको सही सदुपयोग भएको मानिएको छ । तर त्यसमा महत्वपूर्ण पक्ष के मानिएको छ भने घरेलु फुटबल नभएको अवस्थामा पनि यति धेरै उदियमान खेलाडीहरू पाइनुले खेलाडीहरूको राम्रो विकल्प तयार भएको देखिएको छ ।
अध्यक्ष शेर्पा भन्छन्, ‘कोविड–१९ का कारण अहिले ४० खेलाडी क्याम्पमा बोलाउँदा १० जनालाई संक्रमण हुन सक्छ भन्ने हिसाबमा हामीले तयारी गर्नुपर्छ । यस्तोमा युवा खेलाडीहरूको आगमनले बल दिएको छ ।’

सुधार
नेपाली टोली बिहिवार नेपाल फर्किँदैछ । खेलाडीहरूले फर्केर नियमित अभ्यास गर्ने चाहना व्यक्त गरिसकेका छन् । एन्फाले पनि अभ्यास निरन्तरता दिँदै यसलाई नेपालमा हुने विश्वकप छनोट दोस्रो चरणको ‘होम म्याच’ को तयारीको रूप दिने बताएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधर भन्छन्, ‘हामी यो अभ्यासलाई विश्वकप छनोटसम्मलाई नियमित गर्नेछौँ । अनि दुई चारवटा अरू मैत्रीपूर्ण भ्रमण दशरथ रंगशालामा नै वा विदेशमा खेल्ने तयारी गरिरहेका छौँ ।’ विश्वकप छनोटको खेल आगामी वर्ष मार्च र जुन अगाडि खेलाइने फिफाको योजना छ । यस्तोमा बंगलादेश भ्रमणले दिएको फुटबलको निरन्तरता कायम हुन सके यसले नेपाली टोली सशक्त बन्न मद्दत पुग्नेछ । त्यो सही मानेमा कोरोनाभाइरस संक्रमणबीच नेपाली खेलक्षेत्रलाई निरन्तरता दिन सकिने सन्देश समेत बन्न सक्ने देखिन्छ ।बीबीसीको सहयोगमा 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार