खण्डहर बनेको तनहुँसुरलाई पुनर्जीवन दिने प्रयास

शुक्रबार, चैत १८, २०७८

ऐतिहासिक महत्व बोकेको रमणीय स्थल तनहुँसुर कुनै समय गुलजार थियो । तनहुँको व्यास नगरपालिका११ मा पर्ने यो क्षेत्र ऐतिहासिक हिसाबले मात्र होइन धार्मिक, साँस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले पनि उत्तिनै महत्वपूर्ण मानिन्छ । माओवादी द्वन्द्वकालमा गाउँमा बस्न नसकेर र त्यसपछि पनि अन्य सुविधाहरूको खोजीमा यहाँका स्थानीयहरू नजिकको बजार क्षेत्र र तल बेँसीतिर बसाइँ सदै जान थालेपछि एक समय यहाँका गाउँहरू सुनसान झैँ भइसकेका थिए । अहिले आएर भने स्थानीयवासी एवं सरोकारवाला निकाय तनहुँसुरलाई पुनर्जीवन दिने प्रयासमा लागिपरेका छन् ।

सेवा, सुविधाको खोजीमा तनहुँसुरका बासिन्दाहरू शहरकेन्द्रित हुँदै जाँदा त्यहाँका परम्परागत संरचनाहरू खण्डहर बन्न पुगेका थिए भने त्यहाँका खेतबारी र पाखाहरूसमेत उजाड हुँदै गएका थिए । अहिले तनहुँसुरमा विभिन्न संघसंस्था, सरकारी निकाय र स्थानीयहरूको संयुक्त सहभागितामा विविध कार्यक्रम र योजनाहरू सञ्चालन गरिएका छन् । त्यसले तनहुँसुरमा पर्या पर्यटन, जैविक खेती र नवीकरणीय उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा टेवा मात्र पुगेको छैन, तनहुँसुरलाई पुनर्जीवन पनि मिलेको छ ।

आधुनिक नेपालको एकीकरण हुनु अघि बाइसेचौविसे राज्यको एउटा सम्वृद्ध र शक्तिशाली राज्यमा पर्दथ्यो तनहुँसुर।समुद्री सतहबाट १२४५ मिटर उचाईमा अवस्थित तनहुँसुर वि.सं. १६१० सम्म पाल्पा राज्य अन्तर्गत पर्दथ्यो।तात्कालिन पाल्पाली राजा मणिमुकुन्दसेन प्रथमले तनहुँराज्य

आफ्ना छोराहरूलाई भागबण्डा गरेको समयदेखि वि.सं. १८३९ सम्म यो एक स्वशासित अखण्ड राज्यको रूपमा रहेको इतिहास छ।तनहुँसुरको टुप्पमा तीन टाकुराहरू रहेका जसलाई त्रितुङ्ग भनिन्छ । त्यही त्रितुङ्ग अपभ्रंश भएर तनुङ हुँदै तनहुँ नाम रहन गएको किम्वदन्ती रहेको व्यास ११ तनहुँसुरको कालिका भगवती टोल विकास संस्थाका अध्यक्ष ज्ञानभक्त थापाले बताए ।

विविध कारणले यहाँका मानिस अन्तै बसाइँ सर्ने क्रम नरोकिएका कारण गाउँ नै सुनसान बनेको छ”, अध्यक्ष थापाले भने, “यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदा खण्डहरू बन्दै गएपछि अहिले विभिन्न सरोकारवाला संघ संस्था तथा स्थानीयहरू पर्यटकीय गतिविधि मार्फत तनहुँसुरलाई पुनर्जीवित गराउने अभियानमा जुटेका छौँ।अहिले हाम्रो दैनिकी पनि परिवर्तन भएको छ।”

व्यास नगरपालिकाको अगुवाईमा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा विगत दुई वर्षदेखि सहभागितामूलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । विविध पर्यटकीय गतिविधि मार्फत तनहुँसुरलाई पुनर्जीवित गर्ने अभियान चलाएसँगै उजाडिदै गएको तनहुँसुरमा अहिले चहलपहल बढ्न थालेको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष पदमबहादुर थापाले बताए ।

डिभिजन वन कार्यलय, पुरातत्व विभाग काठमाडौं, सम्पदा नेपाल लगायतका संघसंस्थाहरूले तनहुँसुरमा पर्या पर्यटन, जैविक खेती, नविकरणीय उर्जा प्रणालिका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याएका छन् । यूएनडिपी/एसजिपिको आर्थिक सहयोगमा उर्जा तथा वातावरण नेपालले तनहुँसुर क्षेत्रको वनजङ्गल तथा जैविक विविधता, ऐतिहासिक सम्पदाको संरक्षणका साथै घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गरेपछि स्थानीय बासिन्दाको जीवनस्तर परिवर्तनमा सकारात्मक परिवर्तन आएको छ ।

तनहुँसुर दुईवटा होमस्टे पनि सञ्चालनमा ल्याएपछि गाउँको स्वरूप नै परिवर्तन भएको होमस्टे सञ्चालक मदन आले बताउँछन् ।” केही वर्ष अगाडि गाउँ उजाडिन्छकी भन्ने चिन्ता लाग्थ्यो”, उनले भने, “अहिले भने हाम्रो गाउँमा पनि बिस्तारै चहलपहल बढ्न थालेको छ ।बाहिरदेखि मान्छेहरू घुम्न आउन थालेका छन्, एकदुई वर्ष यता बल्ल चहलपहल बढ्न थालेको छ, गाउँ छाडेर गएकाहरू पनि बिस्तारै यहीँ फर्कन थालेका छन्।”

केही वर्ष अगाडिसम्म सम्पूर्ण खाद्यपदार्थका लागि बाहिरी बजारको मुख ताक्नुपर्ने स्थानीय अहिले आफैँले तरकारीहरू उत्पादन गर्न थालेका छन्।गाउँमा उत्पादित कृषि उपज यहीँ बिक्रीवितरण पनि हुन थालेका छन् । अहिले गाउँका प्रत्येक घरमा १०१० वटा माउ कुखुरा पालिएको, त्यसले गर्दा कुनै पनि कृषि उपज खेर नगएको र ती सबै गाउँको होमस्टेमै खपत हुने गरेको स्थानीय मनिसरा रानाले बताउनु भयो।त्यसबाहेक गाउँमा बाख्रा र सुँगुरपालनबाट समेत केही आम्दानी गर्न थालेका छन् ।

मनिसरा पनि बालबच्चालाई राम्रो शिक्षा दिन र सेवा सुविधाको खोजीमा तीन वर्ष अघि दमौलीमा बसाइँ सरेको बताउनु भयो।तर कोरोना कहरका कारण बजारमा महङ्गी बढेसँगै उहाँ गाउँ फर्किनु भएको हो ।अहिले गाउँमै श्रीमानले भन्दा बढि आमदानी गर्छु भन्दै खुसी हुँदै वहाँ भन्नुहुन्छ, “सहरमा कमाई भन्दा बढी खर्च हुन्थ्यो, अहिले आफ्नै घरमा इलम गरेर श्रीमानले भन्दा बढी कमाई गर्छु।केही खाना मन लागे, लगाउन मन लागे पहिलेजस्तो श्रीमानले कति बेला पैसा दिनुहोला भन्दै आश गर्नु परेको छैन।”

गाउँमै बाटोघाटो, बिजुली, शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका आधारभूत सुविधा सहज बन्दै गएपछि बसाइँ सरेर गएकाहरू पुनः गाउँ उक्लन थालेकाले अब तनहुँसुरले पुनर्जीवन पाउने आशा जगाएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी बताउँछन् ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका संरचनाहरूको संरक्षण तथा त्यसका महत्वको विषयमा अभिमुखिकरण, अर्गानिक तरकारी खेती सम्बन्धी आधारभूत तालिम, तनहुँसूर ईको ट्रेकको सम्भाव्यता अध्ययन, खानेपानीको व्यवस्थापन, भ्यू पोइण्ट (टिकटक स्टेशन) निर्माण, कृषि तथा पर्यटन ज्ञान, होमस्टे प्रवर्धन, वन डढेलो रोकथाम तथा नियन्त्रण लगायतका कार्यक्रमले तनहुँसुरलाई पुनर्जीवन दिएको छ सुवेदी बताउँछन् ।

सेनवंशी राजाले राज्य सञ्चालन गरेको ठाउँ तथा तनहुँसुरका पुरातात्विक सम्पदालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अभियान सञ्चालन गरेसँगै अहिले तनहुँसुरले चर्चा बटुल्न थालेको छ । ऐतिहासिक, पुरातात्विक सम्पदाको पुनः निर्माण तथा संरक्षण, प्रवर्धनात्मक रूपमा प्रचार प्रसार गर्न थालिएको छ ।

यस्तै, खेलकुदका माध्यमबाट तनहुँसुरको विकास गर्ने लक्ष्यका साथ गत वर्षदेखि व्यास नगरपालिकाले दमौलीदेखि तनहुँसुरसम्म २२ किलोमिटर दुरीको महिलाहरू बीच हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ।६ दशमलव ३ किलोमिटर दुरीको तनहुँसुर इको ट्रेकको नक्शांकन गरी आवश्यक पुर्वाधार तयार गरी पर्यटन प्रवर्धनका काम भएको पर्यटनकर्मी एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् ।

तनहुँसुरमा जीर्ण अवस्थामा पुगेको खड्गकालिका मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले गत वर्ष ५० लाख रूपैयाँ सहयोग गरेको थियो भने यस वर्ष ३५ लाख रूपैयाँ विनियोजना गरेको छ । स्थानीय खड्गदेवी मोटरमार्गको ९ किलोमिटर खण्ड संघीय सरकारको ५ करोड र नगरपालिकाको ५ करोड गरी १० करोड रूपैयाँको लागतमा कालोपत्रे गरिएको छ।दुई वर्षको अवधिमा तनहुँसुरको ऐतिहासिक, प्राकृतिक, भौतिक, पुरात्वविक सम्पदा संरक्षण र यस क्षेत्रको विकासका लागि करिब ११ करोड २७ लाख रूपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ।

ऐतिहासिक स्थल तनहुँसुरबाट विभिन्न हिमश्रृंखला, महाभारत पर्वत श्रृंखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न रमणीय स्थलहरू अवलोकन गर्न सकिन्छ।तनहुँसुर दरवारका अवशेष, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, तोप, साउने कुवाँ, कुँडापानी, बाइससिढी चौतारा, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैंचा, गढि, शहिद पार्क, भगवतीपानी मन्दिर लगायतका ऐतिहासिक स्थलले समेत पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार