‘माउथवास’ले पनि निष्क्रिय पार्छ कोरोनाभाइरस

बिहीबार, मंसिर ४, २०७७

कम्तिमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड (सीपीसी) भएका माउथवासहरूले एउटा प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गर्ने ‘आशाजनक संकेतहरू’ देखाएका छन् । 

न्युयोर्क । मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ ।
कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने ‘आशाजनक संकतहरू’ पाइएको बताएका हुन् ।
युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड–१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो ।
डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा ‘माउथवास’लाई एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन् ।

उपचारमा प्रयोग हुन सक्ला ?
अध्ययनले ¥यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि संकेत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन । 
डा. क्लेडन भन्छन्, ‘यदि यी सकारात्मक परिणामहरू देखिएका हुन् भने हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्यका साथसाथै सीपीसीमा आधारित माउथवासहरू पनि अहिले र भविष्यमा मानिसको दैनिकीका थप महत्वपूर्ण हिस्सा बन्न सक्नेछन् ।’
विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन् । उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै छ । यसले हालैको अर्को अध्ययनलाई थप बल पु¥याउँछ । त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पु¥याउने देखाएको थियो ।

अध्येता के भन्छन् ?
उक्त अध्ययनका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्छन्, ‘दाँतमा किरा लाग्ने रोगसँग लड्न बनाइएका माउथवासहरूले कोरोनाभाइरसलाई पनि निष्क्रिय गर्न सक्ने देखाएका छन् ।’
‘जब यसको प्रयोगशालमा परीक्षण गरियो त्यसबेला एउटा टेस्टट्युबमा नाक र मुखको नक्कली प्वाल बनाइएको थियो’ उनले भने,‘यो अध्ययनको अझै पनि परीक्षण भएको छैन । त्यसको अर्थ अन्य वैज्ञानिकहरूले यसलाई हालसम्म जाँच गरेका छैनन् । प्राज्ञिक अनुसन्धानमा यो सामान्य प्रक्रिया हो ।’
कार्डिफको अस्पतालमा हुने एउटा परीक्षणमा माउथवासले कोरोनाभाइरस संक्रमितको ¥यालमा भाइरसको संख्या घटाउँछ कि घटाउँदैन भन्ने हेरिनेछ । त्यसको नतिजा आगामी वर्षको सुरुमा आउने अपेक्षा गरिएको छ । उक्त विश्वविद्यालयका प्राध्यापक डेभिड थोमस प्रारम्भिक नतिजा उत्साहजनक देखिएको तर यसले बिरामीबीच भाइरस सर्नलाई कसरी रोक्छ भन्ने प्रमाण नदिने बताउँछन् ।
उनले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको तर बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण आरम्भविन्दु हुने बताए । बीबीसी 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार