‘चिन्ताजनक’ तहमा सङ्क्रमण दर

नेपालमा कोरोना भाइरस
बिहीबार, मंसिर ४, २०७७

काठमाडौं । नेपालमा बुधवार ६ हजार ७३१ व्यक्तिमा परीक्षण गर्दा १ हजार ४४२ जनामा कोरोनाभाइरस संक्रमण देखियो जुन संख्या परीक्षण गरिएका मानिसको २१ प्रतिशत हुन आउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा विगत १५ दिनमा औसतमा दैनिक परीक्षण गरिएका व्यक्तिमध्ये झन्डै २३ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि हुने गरेको देखिन्छ । दशैँयता दैनिक गरिने परीक्षणको संख्या भने त्यसअघिको भन्दा कम हुने गरेको मन्त्रालयकै तथ्यांकले देखाउँछ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार गत कात्तिक महिनामा कोभिड–१९ सँग सम्बन्धित कारणले दैनिक सरदर १७ जनाको मृत्यु भएको थियो ।
संक्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्हरूले पछिल्लो समय परीक्षण गरिएको संख्याको अनुपातमा पुष्टि हुने गरेको संक्रमण दरलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् ।

संक्रमण दरले के संकेत गर्छ ?
स्वास्थ्य अधिकारीहरू नै नेपालमा पछिल्लो समय देखिएको संक्रमण दर ‘झन् चिन्ताजनक’ तहमा पुगेको स्वीकार्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘हुन त पछिल्लो समय कम परीक्षण भइरहेको छ । तर परीक्षण कम भए पनि संक्रमण दर २० प्रतिशतसम्म देखिनु चिन्ताको विषय हो ।’ त्यसबारे सचेत गराउँदै उनले अगाडि थपे, ‘सोही अनुरूप काठमाडौं जस्तो बाक्लो जनघनत्व भएको ठाउँमा प्रभावकारी कदम चालिएन भने स्थिति झन् गम्भीर हुन सक्छ ।’
त्यो भनेको संक्रमण दर अझ बढ्न सक्ने र विद्यमान स्वास्थ्य प्रणालीले संक्रमितहरूलाई धान्न कठिन हुने विज्ञहरूको आकलन छ ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित देशमा पर्याप्त मात्रामा परीक्षण हुने गरेको विश्व स्वास्थ्य संगठनको आशय रहेको पाइन्छ । दक्षिण कोरियालगायत कतिपय देशका अनुभव हेर्दा संक्रमण दर तीन प्रतिशतसम्ममा झार्दा महामारी नियन्त्रण हुँदै जाने देखिएको उनी बताउँछन् ।
‘हुन त परीक्षण मात्रैले महामारी नियन्त्रण हुने होइन । परीक्षणले देखाएका विज्ञान अथवा आँकडलाई बुझेर नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन र क्वारन्टीनलगायत क्षेत्रमा काम गर्नुपर्ने हुन्छ’ डा.सुवेदीले थपे ।
महामारी नियन्त्रणको पहिलो कडी परीक्षणमै कमजोरी हुँदा–हुँदै सरकारको प्राथमिकतामा अरू विषय पर्नु पनि यो अवस्थाका लागि धेरै हदसम्म जिम्मेवार रहेको उनको ठम्याइ छ ।
कोरोनाभाइरस संक्रमणका लक्षण देखिँदा–देखिँदै त्यस्ता व्यक्तिहरू बाहिर हिँडडुललगायतका गतिविधिमा संलग्न हुन गरेको पाइनुले पनि जोखिम झन् बढ्ने खतरा रहेको डा. पाण्डे औँल्याउँछन् ।
‘अब नियन्त्रणका लागि ट्रान्समिसन चेन ब्रेक (संक्रमण सर्ने बाटो रोक्नुपर्नेे) गर्नुपर्ने हुन्छ’, उनी भन्छन् । तर कतिपय पीडितले आफ्नै पहलमा परीक्षण गराई होम आइसोलेशन बसिरहँदा समेत आफूहरूको अवस्थाबारे सम्बन्धित निकायले कुनै सोधखोज नगर्ने गरेको गुनासो गर्दै आएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी त्यस्तो गुनासोप्रति धेरै हदसम्म सहमत देखिन्छन् । संक्रमण दर चिन्ता गर्नुपर्ने तहमा पुगेको उनी पनि बताउँछन् ।
‘अर्ली डिटेक्शन एन्ड ट्रीट्मेन्ट’ अर्थात् सरुवा रोगका बिरामीलाई जतिसक्दो चाँडो पहिचान गर्न सकिन्छ त्यति चाँडै त्यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर भनिन्छ । तर त्यो दिशामा काम देखिँदैन’, उनले थपे, ‘तपाईंले संस्थागत रूपमा कुनै काम नै नगरीकन नियन्त्रण गर्छु भन्दैमा यो रोग नियन्त्रण हुनेवाला छैन ।’

पछिल्लो अवस्था के छ ?
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बुधबार अपराह्णसम्म १,२५९ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । मङ्सिर ३ गतेसम्म नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको कुल संख्या दुई लाख १३ हजारको हाराहारी पुगेको छ । यो मितिसम्म संक्रमित भई निको हुने मानिसको संख्या चाहिँ १लाख ८२ हजार ७८० रहेको छ जुन कुल संक्रमितको झन्डै ८६ प्रतिशत हो ।
कुल संक्रमित व्यक्तिमध्ये २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार