जाडोयाममा इन्फ्लुएन्जा र निमोनियाको खोप लगाउनुका फाइदा

बुधबार, मंसिर ३, २०७७

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण यस वर्षको हिउँद याममा जोखिममा रहेका उमेर समूहले थप सावधानी अपनाउनुपर्ने आवाज उठिरहेका बेला विज्ञहरूले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिएका छन् ।
ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनिया जस्ता घातक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने चिकित्सकहरू बताउँछन् ।
नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ । तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था गरिएको छैन । कतिपय विज्ञहरूले सरकारले ज्येष्ठ नागरिकलाई अत्यावश्यक खालका खोप दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले ‘जीवन चक्र’ आधारित खोप कार्यक्रम सञ्चालन गर्ने नीतिगत निर्णय भएपनि त्यो कार्यान्वयनमा नगइसकेको बताएका छन् ।

इन्फ्लुएन्जा र निमोनियाको खोप किन
चिकित्सकहरूका अनुसार प्रत्येक वर्ष जाडो याममा नेपालमा इन्फ्लुएन्जा र निमोनियाका बिरामीहरू उल्लेख्य रूपमा बढ्ने गरेको पाइएको छ । राजधानीस्थित ह्याम्स अस्पतालकी पल्मोनरी एण्ड क्रिटिकल केअर विशेषज्ञ डाक्टर रक्षा पाण्डे भन्छिन् ‘इन्फ्लुएन्जाका खोप ६ महिना नाघेका सबैले लिएको राम्रो हो । निमोनियाको खोप ६५ वर्ष नाघेका सबै जनाले लिएको खण्डमा त्यसले फाइदा पु¥याउँछ ।’ उनले ६५ वर्ष नपुगेको भएपनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिहरूले निमोनियाको खोप लिनु राम्रो भएको बताइन् । डाक्टर पाण्डेका अनुसार हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गर्छ । त्यही भएर वर्षमा एक पटक इन्फ्लुएन्जाको खोप लगाउनुपर्छ । ६ महिनाभन्दा बढी उमेरका सबैले यो खोप लगाएको राम्रो हो किनभने धेरैमा प्रतिरोधी क्षमता भयो भने जोखिममा रहेका व्यक्तिहरूलाई रोग सार्ने सम्भावना कम हुन्छ । गर्भवती महिलाहरूले अझ धेरै ध्यान दिनुपर्छ किनभने उनीहरूलाई अझ कडा इन्फ्लुएन्जा हुने सम्भावना हुन्छ । ज्येष्ठ नागरिक र अरू रोग भएकाहरूले झनै लगाउनुपर्ने देखिन्छ ।
डाक्टर पाण्डेले निमोनियाको खोप दुई थरीका रहेको बताइन् । उनले ६५ वर्ष भन्दा माथिको उमेर भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय रूपमा पीपीएसभी २३ भनिने खोप सिफारिस गरिएको बताइन् । ‘पहिला नेपालमा पाउने गरेको भएपनि अहिले उक्त खोप आउन छाडेको छ । त्यही भएर यहाँ पीसीभी १३ भन्ने खोप बढी प्रयोगमा छ । विदेशमा हामीले १३ नम्बरको खोप एकचोटि मात्रै दिन्छौँ । कम उमेरमा २३ नम्बरको खोप लगाएको छ भने ६५ वर्ष ननाघुन्जेल प्रत्येक पाँच पाँच वर्षमा अनि ६५ वर्ष पुगेपछि उक्त खोप लगाएको छ भने फेरि लगाउनुपर्दैन’, उनले भनिन् ।

ज्येष्ठ नागरिकलाई खोप लगाउने दायित्व ‘राज्यको’
खोप विज्ञ डाक्टर श्यामराज उप्रेती निमोनिया र इन्फ्लुएन्जा जस्ता रोग विरूद्धका खोप ज्येष्ठ नागरिकलाई दिनु अनिवार्य ठान्छन् ।
उनी भन्छन्, ‘अहिलेको बदलिएको परिस्थितिलाई हामीले ध्यान दिनुपर्छ । जहिले पनि ज्येष्ठ नागरिकहरू इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा रहने भएकाले नेपाल सरकारले नै यी खोपहरू दिने अभियान चलाउनुपर्छ ।’
डाक्टर उप्रेतीका अनुसार विश्वभर देखिएको कोरोनाभाइरसको महामारीले त्यस्तो अभियान चलाउनु अझै टडकारो बनाइदिएको छ ।
उनी थप्छन्, ‘अहिले संसारमा नै कोभिड–१९ र इन्फ्लुएन्जालाई लिएर देखा परेका अन्योलले पहिचान र उपचारमा समस्या पारिरहेको छ । कतिपय विकसित देशहरूले उपचारसँगै इन्फ्लुएन्जाको खोप लगाउन पनि शुरू गरेका छन् । नियमित रूपमा नै यसखालको खोप दिनुपर्छ भन्ने मलाई लाग्छ ।’ पल्मोनरी एण्ड क्रिटिकल केअर विशेषज्ञ डाक्टर रक्षा पाण्डे फ्लू र निमोनियाको खोप दिने विषयलाई कोभिड–१९ को सङ्क्रमणसँग जोडिरहनु आवश्यक नरहेको बताउँछिन् । उनले भनिन्, ‘यो खोपहरू दुईवटा अलग अलग रोगहरूका लागि बनाएको हो । यसले ज्यान जाने कडा रोग लाग्नबाट बचाउँछ त्यही भएर हामीले यी खोपहरू लगाउनुपर्छ ।’ कोभिड–१९ लगाएका व्यक्तिहरूलाई हुने निमोनिया, सार्स तथा कोभिड–२ भनिने भाइरसका कारण हुने निमोनिया भने खोपले रोक्ने होइन ।

सरकार के भन्छ ?
खोप विज्ञ डाक्टर उप्रेतीले भनेजस्तै ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाको खोपहरू राज्यले उपलब्ध गराउने हो भने थप आर्थिक दायित्व वहन गर्नुपर्नेछ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले सरकारले बालबालिका बाहेक अरूलाई नियमित तालिका बनाएर खोप वितरण गर्ने नगरिएको बताउँछन् ।उनी भन्छन् ‘बजारमा फ्लू र निमोनिया विरूद्धका खोपहरू उपलब्ध छन् । ती खोपहरू ज्येष्ठ नागरिकहरूले लिनसक्नुहुन्छ । कुनै कुनै स्थानीय तहले यस्ता खोप दिन थालेको बुझेका छौँ ।’
हामीले नियमित रूपमा बच्चाहरूलाई लगाइदिने खोपहरूको तुलनामा फ्लू र निमोनियाका खोप केही महङ्गो छ । अहिलेसम्म हाम्रा खोपहरू बालबालिका केन्द्रित छन् तर नीतिगत रूपमा जीवन चक्रलाई ध्यान दिनुपर्छ भन्ने निर्णय भएको छ’, उनले भने । 
उनले थपे, ‘हामीले बच्चा गर्भमा आएपछि आमालाई खोप दिन्छौँ अनि पाँच वर्ष मुनिको बच्चाहरूलाई दिन्छौँ । अब पाठेघरको क्यान्सरविरूद्धको खोप किशोरीहरूलाई दिने योजना छ । त्यसै गरी ज्येष्ठ नागरिकलाई पनि दिनुपर्छ भन्ने अवधारणा छ ।’
यसै वर्ष काठमाडौमा निजी क्षेत्रमार्फत उपलब्ध खोप सेवाबारे सरकारले गरेको अध्ययनले इन्फ्लुएन्जा र निमोनिया जस्ता रोग विरूद्ध प्रयोग हुने खोपको बजार मूल्य एकै नासको नरहेको पाइएको थियो । इन्फ्लुएन्जाको खोपको मूल्य १३ सयदेखि १७ सयसम्म र निमोनियाको खोपको मूल्य ५२ सयदेखि ७२ सयसम्म तोकिएको उक्त अध्ययनमा उल्लेख छ । बीबीसी 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार