प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

शनिबार, फागुन २२, २०७७

कास्की । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ (भ्याट बाहेक) लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्र निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । 
एक करोड १२ लाख ३६ हजार ४३५ रुपैयाँ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको हो हो । 
निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेड तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरूपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ । गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललार्ई शुरुआतदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले सङ्घीय सरकारले रु २६ करोड ५० लाख लागतमा ५० श्ययाको अस्पताल बनाउनका लागि बजेट उपलब्ध गराएको बताउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १०० श्ययाको अस्पताल निर्माणको योजना अघि बढाएको जानकारी दिए । खोप भण्डारगृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृहलगायत संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको उनको भनाइ छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार