सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ । यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिए । उनका खोप उपलब्धताको आधारमा पहिले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिन थालेको हो । उनले हिमाली जिल्लामा भने ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए । दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हँुदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ । सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशस्थित कार्यालयका कर्मचारीलाई खोप लगाउन सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय मिलाउने छ । संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, सार्वजनिक संस्थानका कर्मचारीलाई नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ । मन्त्रालयले पहिलो चरणमा खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमयसेविका, स्थानीय तहका कर्मचारी, प्रहरी र स्थानीय तहका कर्मचारीलाई पनि खोप उपलब्धताका आधारमा दोस्रो चरणमा खोप लगाइने व्यवस्था मिलाएको छ । सरकारले पहिलो चरणमा चार लाख २९ हजार व्यक्तिलाई खोप लगाएको थियो ।
सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । माघ र फागुनमा पहिलो मात्रा लगाएको अन्तिम लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए । उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्र खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिच्किचाएकोसमेत बताए । विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए । उनले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ छ ।
सार्कमा माल्दिभ्स बढी अनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा सबभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ । माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलङ्कामा २.५९ प्रतिशत, बङ्गलादेशमा २.०३ प्रतिशत, भारतमा १.१३ प्रतिशत र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन् ।