मतपत्रमा चुनाव चिह्नको रंगले मतमा प्रभाव पर्छ ?

बुधबार, फागुन २५, २०७८

काठमाडौं, २५ फागुन । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने निर्वाचन आयोगले निर्णय  गरेकाे छ । गत सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो । 

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरी आयोगले निर्णय गरेको आरोप लगाए । कमजोर आँखा हुनेहरुले रुखै रुख देखुन् भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो । 

'के हिसाबले हो यो चिह्न राख्ने ? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो ? किन हरियो राख्ने ?' ओलीको प्रश्न थियो । 

उनले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी गरे । मतपत्रमा हुने चिह्नको रंगले मतपरिणाममा प्रभाव पर्ने संकेत ओलीको थियो ।

तर,  निर्वाचन आयोगले भने यसअघिका निर्वाचनमा देखिएको समस्या समाधानका लागि यस्तो निर्णय गरिएको दाबी गरेको छ । पहिला मतपत्र नीलो रातो हुँदा र स्वस्तिक पनि नीलो हुँदा गणनामा समस्या भएको आयोगको दाबी छ । पहिलेको पत्र नीलो रातो हुँदा स्वस्तिक छाप पनि नीलो हुने भएकाले गणना गर्दा स्पष्ट नभएपछि चिह्न हरियो बनाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै निलो हुँदा गणनामा स्पष्टरुपमा नदेखिएकोले यसलाई प्रष्ट देखिने बनाउन खोजिएको बताए । 

'चिह्न, धर्का र छापसमेत निलो हुँदा स्पष्ट रुपमा देख्न सकिएन' उनले भने, ' यसलाई चहकिलो बनाउन खोजिएको हो ।'

तर, एमाले अध्यक्ष ओ‌लीले भने मतपत्रमा चिह्नको रंग फेर्ने त्रुटि आयोगले सच्याउनु पर्ने बताए । 

यदि हरियो राख्ने निर्णय गरेको हो भने, होइन भने सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनुपर्छ । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्छ। हरियो सरियो हुँदैन' ओलीले भने ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। 'स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो एसकेड्यास-३०८१ स्पेसक्ट्रम ब्राइट ग्रीन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

'हरियो रङ मतदाता र गणकमैत्री हुन्छ'
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हँुदैआएको जानकारी दिए । 

उनले भने, “मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियो भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो ।”
अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसिले छपाइ गर्ने निर्णय गरेको सोमबार आयोजित पत्रकार भेटमा जानकारी दिइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार