देवघरको पुनःनिर्माण सुरु 

शनिबार, फागुन २१, २०७८

काठमाडौँ, २१ फागुन । अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुनःनिर्माणको काम सुरु भएको छ । उक्त देवघरको पुनःनिर्माण गर्न कामपाले यस अघिनै प्रयास गरे पनि गुठीयारबीच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
कामपाको वडा २७ भोटाहिटीमा रहेको देव घर निर्माणका लागि कामपाको प्रमुख विद्यासुन्दर शाक्यले आज शिलान्यास गर्नुभयो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्ति, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारको बैठकलगायत काममा घरको प्रयोग हुने गरेको छ । 
कार्यक्रममा कामपाका प्रमुख शाक्यले सांस्कृतिक सम्पदाको मर्मत सम्भार र पुनःनिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यतर्फबाट कामपाले सहयोग गरेको उल्लेख गरे । तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारको रहेको भन्दै प्रमुख शाक्यले सोहीअनुसार आफूले सम्पदा क्षेत्रमा लगानी गरेको बताए । 
देवघरको पुनःनिर्माण अन्नपूर्ण द्यःछेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुनःनिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । दुई आना दुई दाम जग्गामा निर्माण हुने उक्त भवन चार तलाको हुनेछ । पुननिर्माणका लागि महानगरले करिब रु ७६ लाख उपलब्ध गराउने छ । 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार