सोसल मिडिया
Contact Us
युनिकोड
ब्रसेल्स, २१ फागुन । रूसको युक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शुक्रबार कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले युक्रेनमाथि उडान निषेधित क्षेत्र लागू नगर्ने बताएको हो । “उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नु पर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताए । “यदि हामीले त्यसो ग¥यौँ भने, हामीले युरोपमा युद्धको अन्त गर्न सक्ने केही कुरा हुनेछैन । युरोपमा थुप्रै राष्ट्रहरू समावेश छन् र यसले गर्दा युरोपलाई पनि युद्धमा धकेल्ने छ र मानव दुःखकष्ट थप चर्किन सक्छ । त्यसैले हामीले यो अप्रिय निर्णय गर्नु परेको हो” उनले भने । युक्रेनको नेतृत्वले देशभरका सहरहरूमा अन्धाधुन्ध बम विस्फोट रोक्न सहयोग गर्न अपिल गरे तापनि अमेरिकी नेतृत्वमा रहेको समूह (नेटो) ले युक्रेनबारे आफ्नो अडान राखेको हो । स्तोल्टेनबर्गले भने, “रूसी सशस्त्र फौजले भारी हतियार ल्याएर देशभरि आक्रमण गरिरहँदा मृत्यु, पीडा र विनाशको कारण आउने दिनहरू अझ खराब हुने सम्भावना छ ।” युक्रेनी विदेश मन्त्री डिमिट्रो कुलेबाले कीभको भिडियोलिङ्कमार्फत सहयोगी नेटो गठबन्धनलाई सम्बोधन गरेका थिए । सम्बोधनपछि गरेको ट्वीटमा उनले नेटोलाई सङ्केत गर्दै भने, “धेरै ढिलो हुनुभन्दा पहिले अहिले नै निर्णय गर्नुहोस् । (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले युक्रेनलाई सिरियाको अवस्थामा परिणत गर्नबाट रोक्नुहोस् । हामी लड्न तयार छौँ । हामी लडिरहनेछौँ । तर अहिले हामीलाई ठोस, दृढ र छिटो–छिटो मद्दत दिन हामी साझेदारहरूलाई आग्रह गर्न चाहन्छौँ ।” नेटो सदस्यहरूले गठबन्धनको घेरालाई बलियो बनाउन पूर्वी युरोपमा हजारौँ फौजलाई पठाएको छ । तर सैनिक नै उतार्न अस्वीकार गरिरहेको छ । स्टोल्टेनबर्गले भने, “नेटो क्षेत्रको प्रत्येक इन्चको सुरक्षा र रक्षा गर्न हामी जे गर्नुपर्छ त्यही गरिरहनेछौँ । नेटो रक्षात्मक गठबन्धन हो । हाम्रो मुख्य काम हाम्रा ३० राष्ट्रहरूलाई सुरक्षित राख्नु हो । हामी यस द्वन्द्वको भाग होइनौँ र युक्रेनभन्दा बाहिर यो बढ्दैन र फैलिंदैन भन्ने कुरा सुनिश्चित गर्ने हाम्रो दायित्व छ ।” यदि नेटो युक्रेनी आकाशलाई उडान निषेधित गर्न इच्छुक छैन भने सहयोगी राष्ट्रहरूले रूसी हवाई आक्रमण रोक्न युद्धक विमान र वायु सुरक्षा प्रणालीको आपूर्ति गर्नुपर्छ । युरोपेली राष्ट्रहरूले अहिलेसम्म विमान वितरण नगर्ने र अधिकांश हातहतियारहरू हल्का हतियार केन्द्रित भएको बताएका छन् ।
क्रेमलिनले रुसीहरूलाई पुटिनको वरिपरि 'एकजुट’ हुन आह्वान गरेको छ
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको एक हप्ता पछि क्रेमलिनले रूसी नागरिकलाई राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा एकजुट हुन आह्वान गरेको छ । युद्ध अन्त्य गर्न सार्वजनिक व्यक्तिहरूबाट गरिएको आग्रह बारे प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले “अहिले विभाजित हुने समय होइन,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले “अब सबै हाम्रो राष्ट्रपतिको पक्षमा एकजुट हुने समय हो”, भने ।
युक्रेन प्लान्ट आक्रमणबारे बेलायतद्वारा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह
बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन् । ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, “यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आवश्यक छ ।”– रासस/एएफपी