सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा ।मकवानपुरमा अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधका घटना बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन् । प्रमुख जिल्ला अधिकारी अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बलका एसपी निमन खड्कासहित राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको टोली विभिन्न जोखिमयुक्त क्षेत्रमा पुगेर अवस्थाको अनुगमन तथा आवश्यक व्यवस्थापनमा जुटेको हो । हेटौँडा उपमहानगरपालिका–१६ स्थित सिर्पाली चोक नजिकै धरान–चतरा सडकखण्डमा विद्युतका पोल ढलेर सडक अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी स्थलगत निरीक्षणमा पुगेका छन् । उनले विद्युतका पोल तत्काल हटाउने तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनका लागि आवश्यक काम आजैबाट सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्थानीयका अनुसार उक्त घटनास्थलमा विद्युतका पोल ढलेर सडक अवरुद्ध भए पनि हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख भने अहिलेसम्म स्थलगत निरीक्षणका लागि नपुगेको गुनासो गरेका छन् । यसैबीच, निरन्तरको वर्षाका कारण हेटौँडा–१६, सिर्पाली चोकबाट करिब ५०० मिटर दूरीमा धरान–चतरा सडकको छेउमा रहेका १० वटा सिमेन्ट, बालुवा र रडबाट निर्मित विद्युतका पोल जमिनबाटै उखेलिएर ढलेका थिए । विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले नेपाल विद्युत् प्राधिकरण हेटौँडासँग समन्वय गरी विद्युत् प्राधिकरणको टोलीको सहयोगमा सडकमा खसेका तार काटेर बिहान ७ः२० बजेदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याएको जनाएको छ । लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा विद्युतका पोलहरू ढलेको प्रारम्भिक विवरण छ । त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा समेत पहिरो खसेर क्षति पुगेको छ । बिहान करिब ८ः५० बजे पहिरो खसेको सूचना प्राप्त भएपछि प्रहरी चौकी थानाभ¥याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । पहिरोका कारण बुद्ध पार्कमा क्षति पुगेको छ भने थानाभ¥याङस्थित राप्ती नदी किनारबाट पाथिभरा मन्दिरतर्फ जाने भित्री सडकसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। हालसम्म उक्त घटनामा मानवीय तथा चौपायाको क्षति भएको विवरण प्राप्त भएको छैन । अविरल वर्षा जारी रहेकाले जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रको समेत निगरानी बढाइएको सुरक्षा निकायले जनाएको छ ।