सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिम पहिरो गएको क्षेत्रमा कतिजना थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। प्रारम्भिक जानकारी अनुसार १२ देखि १३ जना व्यक्ति त्यहाँ रहेको र उनीहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भनिएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको पौडेलले बताए । सम्भावित जोखिममा परेकाहरूको खोज तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत टोली मनाङ पुगेको छ। उद्धार टोलीका चार सदस्यलाई हिम पहिरो गएको स्थानमा प्रारम्भिक खोज तथा उद्धारका लागि छाडिएको र थप उद्धारका लागि हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको जनाइएको छ । हिम पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। घटनास्थलको अवस्थाबारे थप जानकारी संकलन तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब एक दर्जन सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए । थापाका अनुसार उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ गएको छ । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन भइसकेको छैन । हिमपहिरो खसेको दृश्यले धेरै ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ ।