मस्जिद विस्फोटमा पाकिस्तानमा ५० जनाको मृत्यु (अपडेट)

शनिबार, फागुन २१, २०७८
Global Ime Bank

इस्लामावाद, २१ फागुन । पाकिस्तानको उत्तर पश्चिमी पेशावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् ।
यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ । आक्रमणमा घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले सिन्ह्वालाई बताए । 
गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घाइते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए । थप १० देखि १५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । 
घाइतेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ । 
पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरून राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आतङ्ककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेको जानकारी दिए ।  घटनामा एक प्रहरीको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ ।  प्रारम्भिक अनुसन्धानपछि अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शी मश्ताक खानले सिन्ह्वालाई प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताए ।
उनले भने, “ठूलो विस्फोटपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आक्रमणबाट घाइते भएका मानिसहरू सहयोगका लागि रोइ कराइ गरिरहेका देखिएको थियो । यो मैले आफ्नो जीवनमा देखेको सबैभन्दा ठूलो विस्फोट थियो । 
दुई आतङ्ककारीले मस्जिद भित्र पस्ने प्रयास गर्दा त्यहाँ ड्युटीमा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावरका प्रहरी अपरेसनका वरिष्ठ सुपरिटेन्डेन्ट हारुन रसिदले सिन्ह्वालाई बताएका छन् ।
गोलीबारीको घटना लगत्तै मस्जिदभित्र विष्फोट भएको बताउँदै उनले प्रारम्भिक अनुसन्धानका अनुसार त्यहाँ प्रार्थना गर्नेहरू माथि आत्मघाती हमला भएको बताएका छन् ।
उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई सहरको लेडी रिडिङ अस्पतालमा लगिएको थियो । घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्जिदमा भएको घातक हमलाको निन्दा गर्नुका साथै घाइतेहरूलाई तत्काल चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीले विस्फोटबारे सम्बन्धित निकायबाट विस्तृत प्रतिवेदन लिन पनि आग्रह गरे । कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मा लिएका छैनन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार