कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
बुधबार, फागुन १९, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत उनले आग्रह गरेका छन् । 
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो  । पहिलो चरणमा नेपालको कूल जनसंख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । खोप लगाउनेमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जना छन् । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।   
थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४२ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा आजसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो समय थप ६२ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ छ । निको हुनेदर भने ९८ दशमलव छ प्रतिशत छ ।  अहिले देशभर ७६६ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ७३ हजार ५११ को पिसिआर परीक्षण भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयले जानकारी गराइएको छ । योसँगै हालसम्मा दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।–रासस
 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार