सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो, १९ फागुन । जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो । तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए । अहिले जापानबाट त्यसतर्फ जान पूरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए ।
युक्रेनका चर्चित खेलाडी पनि रुस विरुद्धको लडाइमा सहभागी
युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् । विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेका चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन् । बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइँमा उत्रिन तयार रहेको बताए । “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने । अर्का पुराना खेलाडी ५० वर्षीया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे ।
रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो
रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ । रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको हो । झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वारसमेत बन्द गरिदिएको छ । यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सबर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए । रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो । आक्रमण अहिले पनि जारी रहेको छ । आक्रमण सुरु भएको पाँचौँ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भए पनि सहमति हुन भने सकेको छैन । दुवै पक्ष आ आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन् । विश्वका धेरै देशले युक्रेन माथी रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन् । केही देशहरूले मात्रै रुसलाई समर्थन गरेका छन् ।–रासस/एएनआई